birat ribon

खाडी क्षेत्रको सुरक्षामा इरानको चासो

Neuro
खाडी क्षेत्रको सुरक्षामा इरानको चासो

तेहरान ५ असोज । इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्व गर्ने बताएका छन् । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उनले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकोमा आलोचना गरे ।

अमेरिकाले गठबन्धन अरब राष्ट्रहरुको सहयोगका लागि भन्दै खाडी क्षेत्रमा आधुनिक उपकरण सहित सैनिक तैनाथ गर्ने घोषणा गरेसँगै इरानले यस्तो प्रतिकृया दिएको हो । विश्व तेल बजारमै हलचल ल्याउने गरी साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रहरुमा मानवविहीन (ड्रोन) बिमानबाट भएका हमलामा इरानको संलग्नता रहेको अमेरिकी दाबी छ ।आक्रमणको जिम्मेवारी भने यमनमा युद्धरत हुथी विद्रोहीले लिएको छ ।

cura insider

इरानले भने अमेरिकी आरोपको खण्डन गर्दै अमेरिका वा साउदी अरेबियाबाट इरान विरुद्ध कुनै कारबाही भए त्यस विरुद्ध लड्न इरान तयार रहेको बताएको छ । राष्ट्रपति रौहानीले खाडी क्षेत्रमा विदेशी सैनिकको उपस्थिति रहँदासम्म विश्वको “ऊर्जा सुरक्षा”मा समस्या आइरहने चेतावनी दिए ।

उनले पर्सियाली जलक्षेत्र र हर्मुज स्ट्रेटमा सुरक्षा सुदृढ गर्ने गरी यस क्षेत्रका अरु मुलुकहरुसँग मित्रता र भातृत्वको सम्बन्ध अझ बलियो बनाउन इरान तयार रहेको बताए । हर्मुज स्ट्रेटको बाटो हुँदै विश्वको कूल कच्चातेल निकासीको झण्डै पाँच भागको एक भाग निकासी हुने गर्दछ ।

संयुक्तराज्य अमेरिकाले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्समा अमेरिकी सैनिकको संख्या र उपकरण बढाउने निर्णय गरिसकेको छ । यो व्यवस्थाबाट पर्सियाली जलक्षेत्र र महत्वपूर्ण तेल व्यापार मार्गमा अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ जसमा युएई, साउदी अरेबिया, बहराइन, बेलायत र अस्ट्रेलियाको मुख्य गठबन्धन बनेको छ ।

तेहरानमा आयोजित सैनिक परेड इराकसँगको आठ वर्षे युद्धको ३९औं वर्षगाँठ पनि हो । यो युद्ध इराकी नेता सद्दाम हुसेनले सन् १९८० मा इरानमा आक्रमण गरेपछि शुरु भएको थियो । यसै किसिमका सैनिक परेडहरु देशका अरु शहरमा पनि आयोजना भएका छन् । परेडहरुमा इरानी सैनिक डुङ्गाहरु, प्रतिरक्षा तथा अरु सैनिक उपकरणहरु प्रदर्शन गरिएका छन् ।

jackson ribon