fbpx

सांसद रेशम चौधरी थुनामुक्त हुने प्रचण्डको आश्वासन

सुनसरी, ५ असोज । पूर्व प्रधामन्त्रीसमेत रहेका प्रचण्डले कैलालीको टिकापुर घटनाका दोषीहरुको झुट्टा मुद्दा खारेज हुने बताएका छन् । आइतबार सुनसरीको झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले टिकापुर घटनाको सबै झुट्टा मुद्दा खारेज हुने सैदान्तिक सहमति गरी प्रकृया अघि बढाएको बताएका हुन् ।

महोत्सवमा बोल्ने थारु अगुवाहरुले संसद रेशम चौधरी जेलमा बस्नु परेकोमा विरोध गरेका थिए । विरोधलाई साम्य पार्दै प्रचण्डले जनताबाट निर्वाचित सांसदहरु ससम्मान जेलमुक्त हुनेमा विश्वस्त रहेकाे बताए । रेशम चाैधरीकाे नाम उल्लेख नगरी प्रचण्डले भने ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास छ ।’ कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ ।

अध्यक्ष प्रचण्डले थारुलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग गठन गरिएको बताए । मुलुक एकात्मक राजतन्त्रबाट संघिय लोकतान्त्रिक गणतन्त्रमा गएकोले यसलाई थारु समुदायले उपलब्धीको रुपमा लिनु पर्ने बताए ।

समानुपातिक व्यवस्थाले थारुहरुको संसदमा बढी भन्दा बढी प्रतिनिधित्व भएको उनको भनाई थियो । उनले सामाजिक न्यायसहितको संविधानले सबैको हित गर्ने बताए । संविधान दिवसमा कालोझण्डा देखाउनेहरुलाई जवाफ दिंदै प्रचण्डले यो सहमतिको दस्तावेज हो फेरि पनि आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संसोधन गर्न सकिने बताए ।

आफूले नेतृत्व गरेको जनयुद्धमा थारु समुदायको अग्रणी भूमिका रहेको प्रचण्डले स्मरण गरे । उनले भने–थारु समुदाय राष्ट्र निर्माणको पक्षमा इतिहासदेखि नै अग्रणी स्थानमा छ ।

तराईमा थारु लगायत मधेसीहरुले मनाउदै आएको जितिया पर्वको शुभकामना दिंदै प्रचण्डले नेपाल भौगोलिक रुपमा सानो भएपनि जातीय र साँस्कृतिक रुपले ठुलो भएको बताए ।

महोत्सवलाई पार्टीका स्थायी कमिटि सदस्य एवम् प्रदेश १ इन्चार्ज भीम आचार्यले थारु जाति जहिल्यै पनि राष्ट्रिय एकताको रक्षा गर्नमा अग्रपंक्तिमा रहेको बताए । संघिय संसदसमेत रहेका आचार्यले थारु समुदायले उठाइरहेको संविधान संसोधनको मुद्दालाई पार्टी र संसदमा छलफलको विषय बनाउने आश्वासन दिए । कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरीले जितियाको चर्चा गर्दै उत्पादनमुलक आर्थिक क्रान्तिले मात्र मुलुको समृद्धि हुने बताइन् ।

Loading...