birat ribon

बायर्नका लागि पहिलो गोल गरेका कौटिन्होले बनाए यस्तो रेकर्ड

Neuro
बायर्नका लागि पहिलो गोल गरेका कौटिन्होले बनाए यस्तो रेकर्ड

एजेन्सी, ५ असोज । यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट जर्मन क्लब बायर्न म्यूनिख गएका स्टा खेलाडी फिलिप्पे कौटिन्होले बुन्डेसलिगामा गोलको खाता खोले । जर्मन बुन्डेसलिगाअन्तर्गत साबिकको विजेता बायर्न म्यूनिखले शानदार जित निकाल्दा एक गोल गरेका उनले नयाँ रेकर्ड बनाएका छन् ।

शनिबार भएको आफ्नो पाँचौं खेलमा कौटिन्हो सम्मेलित टोली बायर्नले एफसी कोल्नविरुद्ध ४–० गोलको जित निकालेको थियो । घरेलु मैदानमा भएको उक्त खेलमा बायर्नलाई जिताउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा फिलिप्पे कौटिन्होले एक तथा इभान पेरिसिकले एक गोल गरे ।

cura insider

रोबर्टोले तेस्रो मिनेटमा र ४८औं मिनेटमा गोल गर्दा कौटिन्होले खेलको ६२औं मिनेटमा गोल गरेका थिए । यसै सिजन बार्सिलोनाबाट लोनमा बायर्न आएका कौटिन्होले पेनाल्टीमार्फत् गोल गरेका थिए । यस गोलसँगै उनी युरोपका शीर्ष चार लिगमा गोल गर्ने पाँचौं खेलाडी बनेका छन् ।

ब्राजिलका स्टार खेलाडी कौटिन्होले युरोपका शीर्ष चार लिगहरू सिरी ‘ए’, प्रिमियर लिग, ला लिगा र बुन्डेस लिगा गरी चार लिगबाट गोल गर्ने पाँचौं खेलाडी बनेका हुन् । यसअघि युरोपका शीर्ष ४ वटा लिगबाट गोल गर्नेमा बोजान क्रिकिक, केभिन–प्रिन्स बोयटेङ, जोनाथन डी गुजम्यान र ओबाफेमी मार्टिन रहेका छन् । अब भने २७ वर्षीय कौटिन्हो यस समूहमा प्रवेश गरेका छन् ।

इटालियन क्लब इन्टर मिलानबाट सिनियर टोलीमा खेल्न थालेका कौटिन्होले सिरी ‘ए’मा २८ खेल खेले । सन् २००८ देखि २०१३ सम्म इन्टरबाट खेलेका कौटिन्होले ३ गोल गरे । यस्तै लिभरपुलबाट प्रिमियर लिग खेल्दा उनले १ सय ५२ खेल खेलेका थिए । सन् २०१३ देखि २०१८ सम्म लिभरपुलमा रहेर खेल्दा उनले ४१ गोल गरेका छन् ।

यस्तै सन् २०१८ मा बार्सिलोना आएका कौटिन्होले ६८ खेल खेल्दै १८ गोल गरे । तर, सन् २०१९ मा बार्सिलोनाबाट बुन्डेसलिगा खेल्न जर्मन आएका उनले ४ खेल खेल्दा १ गोल गरेका छन् ।

गए रातिको खेलमा बायर्नले जित निकालेसँगै लिगको दोस्रो स्थानमा उक्लिएको छ । वायर्नले ५ खेलबाट ११ अंक बनाएको छ । यता, पराजित कोल्नको ५ खेलबाट ३ अंक रहेको छ । लिगको शीर्ष स्थानमा आरबी लेइपिज रहेको छ । उसँग १३ अंक छ ।

jackson ribon