fbpx

अब मुलुक बनाउन सबैले हातेमालो गर्दै अघि बढ्नुपर्छ

aa
आर.सी. अधिकारी

व्यवस्थापनको विद्यार्थी भएको हुनाले वर्तमान अवस्थामा नेपाललाई कसरी व्यवस्थित गर्दै हालको नेपालको राजनीतिमा भएका कमी–कमजोरीहरूलाई सुधार गर्दै सबै राजनीतिक दलहरू एकतावद्ध भइ आर्थिक विकास र समृद्ध नेपालमा केन्द्रित हुनुपर्छ भन्ने विषयमा मेरो ध्यानाकर्षण भएको छ । तर, त्यसका लागि राजनीतिक आन्दोलनको नेतृत्त्व गरेको पुस्ताले नयाँ पुस्तालाई इमानदारीका साथ नेतृत्व हस्तान्तरण गर्नु पर्छ ।

अब उहाँहरूले मुलुक निर्माण, आर्थिक विकास र समृद्धिको नेतृत्त्व नयाँ पुस्ताहरूमध्ये ज–जसले त्यस कुराको नेतृत्त्व गर्न सक्छन्, उनीहरूलाई हस्तान्तरण गर्न सक्नुपर्छ । मलाई लाग्दछ, सबै कुराको नेतृत्त्व एउटै पुस्ताले गर्न सम्भव छैन । विकास र समृद्धिका लागि त्यहीअनुसारको स्कुलिङ हुनुपर्छ । अरुलाई गाली गरेर होइन विसंगतिलाई हटाएर मुलुक निर्माणको गतिमा अघि बढ्नुपर्छ । साना–साना कामबाट ठूला–ठूला परिवर्तन ल्याउन सकिन्छ । मुलुकको समृद्धि सम्भव छ । हाम्रै जीवनकालमा समृद्ध नेपाल सम्भव छ ।

नेपाल नबन्नुको कारण राम्रो संस्कारको कमी हो । यहाँ विकासप्रति कोही पनि मोहित छैन, सबै स–साना स्वार्थमा अल्झिएका छन् । हाम्रो देशमा नेतृत्त्वकर्ताहरूले सही नीति निर्माण गर्न सकिरहेका छैनौं । किनकी, हामीसँग नीतिगत अनुसन्धानको संस्थागत संरचना छैन । हाम्रो सरकारी संरचनाको क्षमता कमजोर छ । देश भित्रका परामर्शदाता र निर्माण व्यवसायीहरूको कमजोर क्षमता हो । निजी क्षेत्र, सार्वजनिक क्षेत्र पनि इमान्दार हुन सकेन । राजनीति इमान्दार हुन सकेन । निर्माणका प्रक्रियाहरूमा, आयोजना सक्ने कुरामा, जग्गामा झमेला, ऐन, नियम कानुनमा समस्याहरू छन् । यस्ता ऐन नियम कानुन छन्, जसले विकासलाई बाँध्छ । त्यसलाई फुकाउन पहल भएन ।

सबैभन्दा पहिलो, नेपालको भूराजनीति अवस्था छ । भारत र चीनका बीचमा हामी अवस्थित छौं । हामीले आफ्नो विकासका लागि जुन रणनीति अपनाउनुपर्ने हो, त्यो गर्न सकेनौं । सामान्य रूपमा नेपालमा विकास भनेको के हो ? कुन कुन क्षेत्रमा काम गर्ने ? भन्न त हामीले कृषि, ऊर्जा, पर्यटन भनिरह्यौं । तर, त्यसका लागि सही योजना बनाएनौं । नत्र ८३ हजार मेगावाट क्षमता भन्यौं तर, १२ सय मेगावाट पनि उत्पादन गर्न सकेका छैनौं ।

विनाशकारी भूकम्पपछिको नवनिर्माण कसरी गर्ने भन्ने कुराको कुनै भेउसमेत छैन । ढुकुटीमा पैसा छ, जनतामा विकास–निर्माणको आकांक्षा चुलिएको छ, तर सरकार विकासका लागि खर्च गर्न सक्दैन । त्यसैले अब शिक्षाको हरेक तहमा अहिले भइरहेको राजनीतीकरण र भागबण्डाको अन्त्य नभएसम्म सुधार हँुदैन । शिक्षकहरूको सही व्यवस्थापन अर्को चनौतीपूर्ण काम हो, जसको साँचो रानीतिक दलहरूले बोकेका छन् । त्यसैले, राजनीतिक दलहरूमा चेतनाको विकास नहुन्जेल शिक्षाको गुणस्तरमा सुधार आउँदैन । शिक्षालाई राजनीतिक दलहरूको पेवा हुनबाट कसरी जोगाउन सकिन्छ, त्यसमा सबै सचेत हुन आवश्यक छ ।

त्यसैले अब मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउँदै प्रचारमुखीभन्दा परिवर्तनमुखी भएर काम गर्नु पर्छ । त्यसैले कुल ग्राहस्थ्य उत्पादनको वृद्धिदरलाई होइन, अब मानव विकास सूचकांक, राष्ट्रिय सम्पत्ति सूचकांकलगायतका अन्य सूचकका आधारमा हाम्रो विकास मापन हेर्ने बेला भइसकेको छ । अबको राजनीति पार्टी र व्यक्तिका लागि होइन । आरोप प्रत्यारोपका लागि होइन । अबको राजनीति सकारात्मक सोचको विकास गर्ने, उद्यमशिलताको विकास गर्ने, मुलुकलाई समृद्ध बनाउने, दुनियाँसँग प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्छ ।

हामीले उद्यमशिलताको विकास गरेनौं । जुन लक्ष्य लिने हो, त्यसतर्फ जान सकेनौं । भित्री, बाहिरी स्वार्थबाट अल्झिएका छौं । नेपालको राजनीतिमा सरकार परिवर्तन भएलगत्तै हेर्न हो भने राजदूत कसका र कस्ता मान्छे हुन्छन् ? सचिवको नियुक्ति र सरुवा केका आधारमा गरिन्छ ? योजना आयोगमा को पुग्छ ? विश्वविद्यालय पदाधिकारीको नियुक्तिमा को पर्छन् ? सरकारका यस्ता निर्णयमा क्षमता र दक्षताभन्दा दलीय भागबन्डा हावी भएको जगजाहेरै छ । मन्त्री हुनेबित्तिकै चालु पूर्वाधार आयोजनामा ‘भेरिएसन अर्डर’ गरेर अर्बौं कमाउने ‘प्राविधिक’ दक्षता पनि सबैलाई थाहै छ ।

तर, आर्थिक विकास कसरी हुन्छ, लगानी कसरी आउँछ, उत्पादकत्त्व र रोजगारी कसरी बढ्छ भन्ने कुराको चासो र दक्षता कसैमा पनि देखिएन । जतिबेलासम्म संविधान कार्यान्वयन हुँदैन तबसम्म संविधान निर्माण एउटा कागजमा मात्र सीमित हुन्छ । मुलुकले खोजेको परिवर्तन पाउन सक्दैन । सरकार परिवर्तन भइरहने, विकासमा केन्द्रित नहुने समस्या छ । राजनीति के का लागि ? अबको राजनीति त विकासमा केन्द्रित हुनुपर्छ । आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ ।

आर.सी. अधिकारी, ओखलढुंगा कुईभिर (हाल इटहरी, सुनसरी)

Loading...