fbpx

‘किक २’ मा फेरि सलमान र ज्याकलिन संगै देखिने

विराटनगर, ५ असोज । बलिउड फिल्म ‘किक’ को सफलतापछि निर्देशक साजिद नाडियाडवाला यसको दोस्रो सिक्वेल बनाउनमा जुटेका छन् । बलिउडको चर्चित अभिनेता सलमान खानको मुख्य अभिनय रहेको फिल्म ‘किक’ को सिक्वेल निर्माण हुने घोषणा अघिल्लो वर्ष नै भएको थियो ।

यसको फिल्मको स्क्रिप्ट र हिरोइनको विषयमा पक्का नभएको हुँदा फिल्मको काममा ढिलाइ भइरहेको हो । फिल्मको स्क्रिप्ट केही महिनामा तयार गरेर फिल्मको छायांकन सन् २०२० बाट शुरु हुने भएको छ । फिल्मको पहिलो पार्टमा सलमानसँग अभिनेत्री ज्याक्लिन फर्नान्डेजले पहिलोपटक काम गरेकी थिइन् ।

सलमान खान फेरि एकपटक डेविल (देवीलाल सिंह) को भूमिकामा देखिने भएका छन् । फिल्मलाई साजिदले भने निर्देशन गर्ने छैनन् । उनले अरु कसैलाई निर्देशनको जिम्मा दिने सोच बनाएका छन् । साजिद र सलमानको मित्रता लामो छ । जीत, जुडुवा, हर दिल जो प्यार करेगा, जानेमनलगायतका फिल्ममा यी दुईले एकसाथ काम गरिसकेका छन् ।

‘किक २’ मा सलमान खानसँग को हिरोइन रहनेछिन् भन्नेमा धेरैको चासो छ । सलमानले ‘ण्किक २’ मा फेरि पनि ज्याकलिनलाई नै चुनेका छन् । ज्याकलिन कुनै पनि हालतमा ‘किक २’ मा काम गर्न चाहेको भएर उनले सलमानको माध्यमबाट आफ्नो लागि निर्देशक साजिद नाडियाडवालासँग सिफारिस गर्न लगाएको खबरसमेत सार्वजनिक भएको थियो । सलमानको कुरा मानेर साजिदले उनको नाम कन्फर्म गरेको समेत खबर छ । तर, साजिदले यो कुरा सत्य नभएको बताएका थिए ।

भारतीय मिडियाका अनुसार यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । अहिले सलमान आफ्नो नयाँ फिल्म ‘दंबग ३’को छायांकनमा व्यस्त रहेका छन् । ‘दबंग ३ को’ छायांकन सकिएपछि सलमानले ‘किक २’ को छायांकनलाई समय दिने भएका छन् ।

Loading...