fbpx

सडकमा भौतारिने बेसहाराहरूलाई सहारा दिने मानव सेवा आश्रम दाताको आशमा

विराटनगर, ५ असोज । सडकमा भौतारिएर हिँड्न बाध्य बेसाहारा मनोरोगीहरूलाई संरक्षण दिने मानव सेवा आश्रम दयालु दाताहरू पर्खिरहेको छ । विराटनगर १० तीनटोलियामा भर्खरै सञ्चालनमा आएको मावन सेवा आश्रमले आर्थिक सहयोगका लागि दयालु दाताहरू पर्खिरहेको हो ।

aa

हाल विराटनगर महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेपनि त्यत्तिले मात्र मानव सेवा आश्रम सञ्चालन हुन नसक्ने भएकोले दयालु दाताहरूको खोजीमा आफूहरू लागिरहेको अभियन्ता नवराज केसीले बताए । अभियन्ता नवराजका अनुसार मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्नेगरी लिजमा लिएको घरमा मानव सेवा आश्रम राखिएको छ । त्यहाँ बढीमा ५० देखि ६० जना बेसहाराहरूलाई राखेर सेवागर्न सकिन्छ ।

हाल आश्रममा भोजपुरको टक्सारबाट उद्धार गरेर ल्याइएकी सात महिने बालककी आमासहित दुई जना मनोरोगी महिलाको सेवा भइरहेको छ । क्रमशः प्रदेश १ मा रहेका बेसहाराहरूको उद्धार गरेर सँख्ँया बढाउदै लाने अभियन्ता नवराजले बताए । उनकाअनुसार प्रदेश १ सरकारले आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएपनि सहयोग गरिसकेको छैन ।

प्रदेश नं ३ को हेटौँडासहित देशका १४ जिल्लाको १६ स्थानमा मानव सेवा आश्रमको शाखाहरू सञ्चालनमा छ । सबै शाखाहरूले सडकमा भौतारिने बेसहाराहरूलाई उद्धार गरेर उपचारसहित संरक्षण गर्ने गर्दछन् । आश्रममा चिकित्सको निगरानीमा उपचार पनि हुने भएकोले निको भएका बिरामीहरू समाजमा पुर्नस्थापना पनि हुने गर्दछन् ।

४ असोजमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विराटनगर–३ बाट सडकमा भौतारिरहेकी महिलाको उद्धार गरेर मानवसेवा आश्रममा संरक्षणका लागि जिम्मा लगाएका छन् । मन्त्री घिमिरेले भर्खरै स्थाापना भएको मानवसेवा आश्रमलाई आर्थिक सहयोग गर्न सरकार तयार रहेको भन्दै दयालु दाताहरूलाई आग्रह गरेका छन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा वकालत गरिरहेको पहल नेटवर्क विराटनगरकी अध्यक्ष मन्जिता उपाध्याय आफूहरूको पहलमा मानवसेवा आश्रम विराटनगरमा पनि स्थापना भएकोले सबैले सहयोग गनुपर्छ भनिन् । उपाध्यायले भनिन्, ‘सडकमा भौतारिने बेसहाराहरुलाई सहारा दिने काम सजिलो छैन यसैले आश्रमलाई सकेको सबैले सहयोग गर्नुपर्छ ।’

Loading...