fbpx

‘जय जय शिवशंकर’मा ऋतिक र टाइगरको डान्स (भिडियोसहित)

विराटनगर, ५ असोज । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा ‘वार’को निर्माण टिमले फिल्ममा समावेश गरिएको ‘जय जय शिवशंकर’ बोलको दोस्रो गीत सार्वजनिक गरेका छन् । गीतलाई युटुबमार्फत् सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा फिल्मका मुख्य अभिनेता ऋतिक रोशन र अभिनेता टाइगर श्राफको डान्स देख्न सकिन्छ । कुमारको शब्द रहेको गीतलाई चर्चित गायक विशाल डाडलानी र बेन्नी डायलले गएका छन् । विशाल र शेखरले सङ्गीत भरेको गीतलाई बास्को सिजरले गजब तरिकाले कोरियोग्राफ गरेका छन् । ऋतिक र टाइगरका साथ ‘वार’ मा अभिनेत्री बाणी कपूरको पनि अभिनय रहेको छ ।

फिल्मलाई निर्देशक सिद्धार्थ आनन्दले निर्देशन र आदित्य चोपडाले निर्माण गरेका हुन् । फिल्ममा ऋतिक र टाइगरको जबरजस्त एक्सन सिन र सस्पेन्स कथा रहेको छ । ठूलो बजेटमा निर्माण भएको फिल्ममा वाणीले यी दुई अभिनेतासँग रोमान्स गरेकी छन् । आफ्नो अभिनय, बडी र डान्सका कारण चर्चामा आउने टाइगर र ऋतिकलाई संगै हेर्न दर्शकहरू निकै उत्साहित रहेका छन् ।

‘टू हिरोज वान वार’ को ट्यागलाइन राखिएको फिल्ममा अहिलेसम्म कुनै फिल्ममा पहिला कहिल्यै नदेखेको अद्भुत एक्सन सिनहरू रहेका छन् । ‘वार’ एक एक्सन प्रधान फिल्म भएका कारण फिल्ममा जीवन्त एक्सन सिन देखाउन कुनै पनि कसर बाँकी नराखेको फिल्मका निर्देशकले बताएका छन् ।

फिल्म अक्टूबर २ अर्थात् असोज १५ गते प्रदर्शनमा आउने भएको छ । फिल्मलाई विभिन्न ६ वटा देशमा छायाँकन गरिएको भने फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा समेत रिलिज गरिने भएको छ ।

Loading...