fbpx

‘कबड्डी ३’को एक दिनको कलेक्सनले राख्यो नयाँ रेकर्ड

विराटनगर, ५ असोज । फ्राइडे रिलिजअन्तर्गत देशभर प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा बम्पर सुरुआत गर्दै रेकर्ड कायम गरेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा दोस्रो दिन पहिलो दिनभन्दा पनि आक्रामक व्यापार देखियो ।

प्रदर्शनको दोस्रो दिनमा फिल्मले १.७८ करोडको ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड राख्न सफल भएको छ । नेपाली चलचित्रले एक दिनमा गरेको यो आजसम्मको सबैभन्दा उच्च कलेक्सन हो । शनिवार राजधानीबाट ९२ लाख कलेक्सन गरेको ‘कबड्डी ३’ले मोफसलमा ८६ लाख व्यापार गरेको वितरक कम्पनी ‘स्टेसन ५’ले जानकारी दिएको छ ।

फिल्मले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको थियो । यसरी चलचित्रको दुई दिने ग्रस कलेक्सन ३ करोड २५ लाख पुगेको छ । फिल्मको वर्ड अफ माउथ बलियो भएका कारण फिल्मले बिदाका दिन राम्रो व्यापार गरेको छ । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल हो ।

स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित रहेको फिल्ममा अभिनेता दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सनविक्रम राई, रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुस्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधरलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

Loading...