fbpx

सरकारको कामप्रति पार्टी सन्तुष्ट छैन् : अध्यक्ष प्रचण्ड

मोरङ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको कामप्रति पार्टी पूर्ण सन्तुष्ट हुन नसकेको बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुई तिहाई बहुमत प्राप्त सरकारको कामप्रति पार्टी पूर्णरुपले सन्तुष्ट हुन नसकेको बताएका हुन् ।

a

‘नेपालको आर्थिक विकासको दर बढेको छ, अहिले नै निराश हुनुपर्ने अवस्था त छैन्,’ उनले भने, ‘तर हामी लिडरसिपहरू पनि जसरी काम अगाडि जानुपर्ने हो, अझै गएको छैन भन्नेमा चिन्तित छौ तर आगामी दिनमा पार्टी र सरकार दुवैको कामलाई मूल्यांकन गरेर गति तीब्र बनाउने छौ ।,

पूर्व प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सरकारको कामको गतिबिधि तीब्र गतिले बढेर जाने बताए । छिमेकीसँगको सुमधुर सम्बन्ध, पाइपलाइन र आर्थिक वृद्धिदर देखिने गरी सरकारको काम भएको उनले बताए । ‘सरकारको कामको पनि पार्टीको कामको पनि समीक्षा गरिहेका छौं’, उनले भने, ‘नयाँ चिराबाट गति दिने हो । आउने समयमा परिणाम देखिन्छ ।’
अध्यक्ष प्रचण्डले मन्त्री मण्डल पुनर्गठनको विषमा प्रश्न नगर्न आग्रह गरे । प्रधानमन्त्रीले चाहेको बेला मन्त्रीमण्डल पुनर्गठन हुन सक्ने बताउँदै उनले भने, ‘मलाई यो मन्त्रीमण्डलबारे नसोध्नुहोस् प्लिज, यसले मलाई हैरान परेको छ ।’

प्रचण्डले केही उच्छृंखल गतिविधिका कारण व्यवस्थामा नै खतरा भने नआएको बताए। ‘व्यवस्था विरोधी गतिविधिलाई हामीले गम्भिर रुपमा लिएका छौं ।’ उनले भने ‘ तत्काल त्यसबाट सिस्टममा नै खतरा आयो भन्ने त लाग्दैन ।’ उनले परिवर्तनविरुद्ध विभिन्न खालका अराजक र उच्छृंखल गतिविधि बढेको देखिन थालेको बताए ।

अध्यक्ष प्रचण्डले त्यसखालका गतिविधि गर्नेविरुद्ध राजनीतिक, वैचारिक र सांस्कृतिक ढंगले बहस गरेर परास्त गर्नुपर्ने बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी  गरे ।

Loading...