fbpx

पत्रपत्रिकामा देश : अख्तियारका पूर्वप्रमुख देखि चर्चित गायिकासम्म सम्पति शुद्धीकरणको छानविनमा

विराटनगर ५ असोज । सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र आयुक्त राजानारायण पाठकमाथि छानबिन शुरु गरेको छ । बस्न्यातसँग अर्ब भन्दा बढी सम्पत्ति रहेको उजुरीको आधारमा छानबिन शुरु गरेको हो ।

अख्तियारको आयुक्त हुँदा पाठक ७८ लाख घुस प्रकरणमा मुछिएपछि अख्तियारले समेत मुद्धा चलाएको छ । अख्तियारमा रहँदा उनले व्यापक भ्रष्टाचार गरेको उजुरी परेपछि उनीमाथि छानबिन शुरु गरेको हो । हाईप्रोफाइल भएका २० जनाको अकुत सम्पत्ति भएको उजुरी परेपछि उनीहरुको आयश्रोत खोजिँदै छ । जसमा सबै मेडिकल कलेजका सञ्चालक गायिका आनी छोइङ डोल्मा रहेका छन् । आनीको बैंक खातामा संकास्पद १९ करोड रुपैयाँ रहको छ । बालुवाटार जग्गा प्रकरणका नाइकेहरुमाथि पनि छानबिन तीव्र पारेको छ ।

बालुवाटारमा प्रधानमन्त्री निवाससँगै जोडिएको २ सय ९९ रोपनी जग्गा व्यक्तिको नाममा बिक्री गर्ने समूहलाई पनि प्राथमिकतामा राखेर विभागले छानबिन थालेको हो । बिचौलियाहरु सोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरुको निकट रहेका व्यापारीकहरुको समेत सम्पत्ति विवरण विभागले संकलन गरिरहेको छ । विभागका एक अधिकारीले शक्तिकेन्द्रको दबाब नआए केही दिनमै नतिजा आउने बताए ।

अन्नपुर्ण पोष्टमा जापान उडान शुरु गरेको नेपाल एयरलाइन्सले क्षमता भन्दा ८१ प्रतिशत कम यात्रु बोकेर अत्यधिक घाटामा उडान भरिरहेको समाचार छापेको छ । रित्तै उड्नु छ जापान शिर्षकमा अन्नपुर्ण पोष्टमा मुख्य खबर छ । सातामा तीन उडान भर्ने योजना बनाएको एयरलाइन्सले घटाएर दुई उडानमा झारेको छ । यात्रु बढे र भाडादर पनि बढाइएमात्रै नाफाको कुरा गर्न सकिने नेपाल वायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए । निगमको दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने उडाउनु पर्ने थियो नारिता, उडाउन खोजिदैछ ओसाका । नारितो टोकियोसँगैको विमानस्थल हो । नारिताकै लागि प्रकृया अघि बढ्दै गर्दा निगमले हतारिएर ओसाका उडाएको हो ।

खिचातानीले कांग्रेसमा गतिरोध शिर्षकमा नागरिक दैनिकमा समाचार छ । आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोल अवस्थामा छ । १३ औँ महाधिवेशन भएको तीन वर्ष पुग्दा पनि आन्तरिक विवादले विभाग र अन्य निकायले पूर्णता पाउन सकेको छैन् । महाधिवेशन पछि दुई महिनामा पूर्णता दिइ सक्नु पर्ने विभाग र निकायलाई गुटले गर्दा ३ वर्षमा पनि पार लगाउन नसकेको हो ।

Loading...