fbpx

पत्रपत्रिकामा प्रदेश : विवाहेतर सम्बन्धले बालबालिकाको बिजोग

विराटनगर ५ असोज । नागरिक पूर्वेलीमा विवाहेतर सम्बन्ध बालबच्चाको बिजोग शिर्षकमा सामाचार छ । अभिभावकको विवाहेतर सम्बन्धले धेरै बालबालिकाको बिजोग भएको छ ।

त्यस्तो सम्बन्धले दोश्रो विवाह गर्ने अभिभावक बढ्दै जाँदा अबोध बालबालिकामा मानसिक रुपमा नकरात्मक असर र दुर्व्यवहार समेत खेप्न बाध्य छन् । पुरुष र महिला दुबैले दोश्रो विवाह गर्ने क्रम बढेको तथ्यांकले देखाउँछ । दोश्रो विवाह गर्दा बाबु वा आमालाई सन्तानले सहजै स्वीकार गर्न सक्दैनन् । अभिभावकले पनि बच्चालाई चासो नदिँदा बिजोग हुने गरेको छ । सुनसरीका विभिन्न स्थानमा अभिभावकले दोश्रो विवाह गर्दा सन्तानको बिजोक भएको खबर इटहरीबाट अमर खड्काले लेखेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ बजारबाट उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङगोला सडक खण्डको लुङ्थुङ सडक निर्माण गर्न तिब्बती टोली उपकरण सहित आउने भएको छ । अबको दुई सातामा आइपुग्ने टोलीले आउने वित्तिकै काम थाल्ने उत्तरदक्षिण लोकमार्ग योजनाका तप्लेजुङस्थित प्रमुख डिभिजन इन्जिनियर रामबहादुर गुरुङले बताए । दशैँको मुखैमा सडकको ट्रयाक खोल्ने काम शुरु हुने भएपछि यो वर्ष दशैँमा पनि लोकमार्ग योजनाका कर्मचारीले विदा पाउने सम्भावना कम रहेको छ ।

कम्तिमा १० किलोमिटर क्षेत्रमा सडकको ट्रयाक खोलिने छ । दोभान ओलाङ्चुङगोला सडकखण्डले गोला छुन अब २२ किलोमिटर बाँकी छ । यो खबरपनि नागरिक पूर्वेलीमा छ ।

कृषिको बजेटले शौचालय निर्माण शिर्षकमा जनविद्रोह दैनिकमा समाचार छ । संघीय सरकारले गत आर्थिक वर्षबाट शुरु गरेको तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत आएको बजेट मोरङको रतुवामाई नगरपालिकामा मनपरी खर्च भएको छ । रतुवामाई ४ झर्किया बजारमा कृषि बजार संकलनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको रकम मनपरी खर्च भएको हो ।

बजेटले कृषि बजार संकलन केन्द्र निर्माण गर्न नसकिने भन्दै नगरपालिकाले ७ कोठे शौचालय बनाउन ९४ लाख ५१ हजार रुपैयाँमा यलम्बर न्यू कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । सम्झौता अनुसार जेठ १ गतेदेखि काम शुरु भएर असार २५ मा सम्पन्न हुनु पर्नेमा अझै बनिसकेको छैन् । नगरपालिकाले क्रमागत योजनामा लाने भन्दै मंसिरसम्म समय थपेर ७१ लाख ८३ हजार ८ सय २२ रुपैयाँ भुक्तानी गरिसकेको छ । नगरपालिकाले गलत ढंगले केन्द्र सरकारले दिएको सशर्त अनुदानको खर्च गरेको उपमेयर दयन्ता चुँडालले बताइन् ।

विराटनगरबाट प्रकाशन हुने सबै पत्रिकामा स्वर्गिय पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका सहयोद्धा ऐतिहासिक मजदुर आन्दोलनका नेता रघुनाथ गुप्ताको निधन भएको खबर छापेका छन् । ९४ वर्षीय गुप्ताको गत शुक्रबार साँझ निधन भएको हो । उनको निवासमा पुगेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शवमा राष्ट्रिय झण्डा ओढाएका थिए । गुप्तालाई श्रद्धाञ्जली दिन प्रदेशका मन्त्री, नेता लगायतको बाक्लो उपस्थिति थियो ।

Loading...