fbpx

रोनाल्डोको गोलमा युभेन्टसको कठिन जित

विराटनगर, ५ असोज । इटालियन सिरी ‘ए’ मा साबिकको विजेता युभेन्टसले जित निकालेको छ । शनिबार राति आफ्नो चौथो खेल खेलेको युभेन्टसले भिरोनामाथि २–१ गोलको कठिन जित निकालेको हो ।

आफ्नै मैदानमा भएको उक्त खेलमा युभेन्टसलाई जिताउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले बराबरीको अवस्थामा रहेको खेलमा पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई जिताए । युभेन्टसका लागि रोनाल्डो र आरोन राम्सेले समान एक–एक गोल गरेका थिए । यता, भिरोनाका लागि मिगुएल भेलोसोले एक गोल गरे ।

घरेलु टोली युभेन्टसले भिरोनाको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । भिरोनाका लागि खेलको २०औं मिनेटमा भेसोलोले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३१औं मिनेटमा यसै सिजन युभेन्टस आएका राम्सेको गोलमा युभेन्टस बराबरीमा फर्किएको थियो । रोनाल्डोको पासमा राम्सले गोल गरेका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा युभेन्टसले एक गोल थप्यो । घरेलु टोलीले खेलको ४९औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा पाहुना टोली भिरोना १० खेलाडीमा सीमित बनेको थियो । भिरोनाका माराश कुम्बुल्लाले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

र, यस जितसँगै युभेन्टसले ४ खेलबाट १० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको युभेन्टसले ३ खेलमा जित निकालेको छ भने १ खेलमा बराबरीमा रोकिएको छ । यता, पराजित टोली भिरोना भने १२औं स्थानमा छ । लिगको शीर्ष स्थानमा इन्टर मिलान रहेको छ । उसँग १२ अंक छ ।

Loading...