fbpx

चितवन मेडिकल कलेजले तोके भन्दा बढी असुलेको रकम फिर्ता गर्ने

चितवन ४ असोज । चितवन मेडिकल कलेजले सरकारले तोके भन्दा बढी असुलेको रकम फिर्ता दिने भएको छ । शनिबार साँझ सम्पन्न वार्तामा विद्यार्थीसँग अवैधरूपमा असुलेको शुल्क फिर्ता गर्ने सहमति भएको हो।

जिल्ला प्रशासन कार्यालयमा भएको मेडिकल कलेज प्रशासन, आन्दोलनरत विद्यार्थी र अभिभावकबीचको वार्तामा बढी लिएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने लिखित् सहमति भएको छ। कलेजले शुल्क फिर्ता गर्ने र विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन भोलिबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । सहमतिसँगै विद्यार्थीले आन्दोलन तत्कालका लागि स्थगित गरेका छन् ।

शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिस न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी प्रकाश चन्दको नेतृत्वमा विद्यार्थी र अभिभावक थिए । चितवन मेडिकल कलेजले १२ लाख रुपैयाँ भन्दा बढी अवैध शुल्क उठाएपछि विद्यार्थी चरणबद्ध आन्दोलन गरिरहेका थिए । विद्यार्थीको आन्दोलनको कारण १९ दिनदेखि कलेजको पठनपाठन ठप्प थियो।

Loading...