fbpx

स्वतन्त्र सेनानी गुप्ताको निधन

विराटनगर ४ असोज । वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित थिए । गुप्ताको शुक्रबार साँझ निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

स्व. मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा सहभागी भएका गुप्ताले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाएका थिए । वि.स. १९८२ भारतको कोलकत्तामा जन्मिएका स्व गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्व. गुप्ताको पार्थिव शरीरमा शनिबार राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जलि अर्पण गरे । यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतका श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए ।
उनको शनिबार नै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

Loading...