fbpx

कथा – छोडपत्र

रामप्रसाद पौडेल

ऊ मतर्फ फर्किन मन गर्दैनथी । म पनि उसको अनुहार हेर्न पनि नपरे हुन्थ्यो भन्नेमा थिएँ । कुनै दिन एकछिन हेर्न नपाए छट्पटि हुने त्यो अनुहारमाथि आज किन किन वितृष्णा जागिरहेको थियो । लगभग एकदशक पहिले मेरालागि लेखेको प्रेमपत्र लिएर ऊ जसरी रत्नपार्कको उत्तरी मोहोडामा बडो उत्सुकतासाथ उभिएकी थिई आज ठीक विपरीत मार्कामा मेरो लागि लेखेको छोडपत्र लिएर न्यायाधीसको सामु खडा भएकी छे ।

“श्रीमान् ! म अब यो मान्छेसँग जीवन जिउन सक्दिन । म अब यो मान्छेको अत्याचार सहन सक्दिन, श्रीमान् ! दिनहुँ हुने घरझगडा, शंका र सतावटले मेरो जीवन निरश बनाइदिएको छ । यस्तो अत्याचारीसँग मैले कसरी जीवन गुजारा गर्नु ? त्यसैले श्रीमान् म छोडपत्र चाहन्छु । म मेरी सात वर्षकी छोरीसँग स्वतन्त्र भएर जिउन चाहन्छु, ममाथि निगाह गरियोस् श्रीमान् !” उसले यति मिलाएर न्यायधीस सामु बोल्छे होला भन्ने मैले जीवनमा कल्पनासम्म पनि गरेको थिइनँ । संघर्षले मान्छेलाई निपूर्ण बनाउँदो रहेछ । कमसेकम मेरो सामना गर्नका लागि गरेको संघर्षकै कारण भए पनि ऊ बोल्नमा सिपालु भइछे खुशी लाग्यो ।

छोडपत्रमा हस्ताक्षर गरेपछि म स्वतन्त्र भएँ, जसरी ऊ भई । छोरी मैले लान पाउने कानून भए पनि उसैलाई सुम्पिएर आएँ । मलाई पूरानो जीवनको सम्झनाहरुमा अल्झने कुनै रहर थिएन । त्यसैले जाँदाजाँदै भएपनि उसको एउटा ईच्छा पूरा गरिदिएँ । जीवनभर त मैले उसको कुनै पनि इच्छा पूरा गर्न सकिनँ । तर सम्बन्ध विच्छेदपछिको जीवनका लागि भने मैले उसको पहिलो इच्छा नै पूरा गरिदिएँ ।
म अफिसमा काम गर्ने । ऊ घर सम्हालेर बस्ने । यस्तै सहमति भएथ्यो हाम्रो विवाहपछि । विवाह पनि सोचेर बुझेर र विचार गरेरै गरेका थियौं, केटाकेटीको बिहेगरी खेल जस्तो खेलाँचीमा गाँसिएको थिएन हाम्रो सम्बन्ध । तर आज एउटा यस्तो अवस्था आयो, हामीले अग्नि साक्षी राखेर गरेका सबै वाचाहरु भुलिदियौं र अर्को वाचा ग¥यौंः जीवनभर अलग रहने ।

सुखी थियो हाम्रो जीवन । मेरो कमाई राम्रै थियो । घरभाडा तिर्न, छोरीलाई पढाउन, दैनिक हातमुख जोर्न, महिनामा एकपल्ट रेष्टुरेण्ट गएर परिवारै रमाउन, श्रीमतीले मागेका सामान्य श्रृंगारका सामानहरुसम्म किन्न पुग्ने कमाई थियो मेरो । कहिलेकाहिँ विरामी पर्दा उपचार गर्न अरुको मुख ताक्नुपर्ने अवस्था थिएन । भान्छामा मीठो मसिनो नै पकाउन पुग्थ्यो । पाहुनापासा आउँदा तर्किएर हिँड्नुपर्ने अवस्था थिएन । ल्यापटप, कार र अन्य सामान्य सम्पतिको जोहो भैसकेको थियो । रिटायर्ड लाइफ विताउनका लागि भनेर हेटौंडामा एक टुक्रो जग्गा पनि किनिसकेका थियौं । हामी दुबै जनाको समझदारी, परिश्रम र इमान्दारीको आर्जनबाट हामी औसत जीवन जिइरहेका थियौं । डेरा नजिकैको जागिर, राम्रै कमाई, हामी धेरै नेपाली परिवारभन्दा भाग्यमानी थियौं ।
एक दिनको कुरा हो ।म अफिसमा आफ्नै काममा व्यस्त थिएँ । ल्यापटप खुल्लै थियो । फेसबुक चालु थियो । एउटा म्यासेज आयो । “हेलो मलाई चिन्नुभो ?” नाम हेरें । लेखें “चिनें, म तपाईंलाई कसरी भुल्न सक्छु र ?”
“किन मलाई भुल्न सक्नुहुन्न ? अनि जीवन कसरी चल्दैछ ?” “सुन्दर अति सुन्दर ! यतिका दिन कहाँ हुनुहुन्थ्यो ?” मैले पहिलो प्रश्नको जवाफ दिइनँ ।  “हराएकी थिएँ, अर्कै दुनियाँमा । केटी मान्छेको आफ्नो दुनियाँ नहुँदोरहेछ !” “होइन निकै भावनामा बग्न थाल्नुभएछ । साहित्यकार बन्नुभो कि क्या हो ?”  “जिन्दगीले ठगेपछि मान्छे साहित्यकार, कलाकार सबै बन्दोरहेछ ! म पनि बनें ।”

“हैन के भो भन्नुस् न । झण्डै डेढ दशकपछि यसरी कुरा हुँदैछ । त्यसमा पनि मसँग सिधा बोल्दा भैहाल्छ नि, किन त्यसरी घुमाउन पर्छ र ?” “खासै केही भएको छैन । मेरो विवाह भयो ।केटाकेटी भएनन् ।” “त्यो त सुन्दर कुरा हो नि । यस्ता घटनाहरु समाजमा घटिरहेका हुन्छन् ।”

“मैले नचाहेको व्यक्तिसँग विहे भो ।”  “ए कुरो त्यसो प¥यो ? अब के गर्नु त त्यतिखेर मेरो प्रस्ताव मान्नुभएन । मानेको भए आज खुशीसाथ बाँच्न पाउनुहुन्थ्यो !” “त्यही भएर त केटी मान्छेको आफ्नो दुनियाँ नहुने रहेछ भनेको ।”
“अन्धकारलाई सराप्नुभन्दा एउटा दीयो जलाउनु नै वेश हो भन्छन् ।”

“उज्यालामा बाँच्नेहरुले दिने अर्ति हो त्यो । एकदिन अन्धकारमा बसेर देखाउन् अनि चाल पाउँछन् दीयो जलाउन कति कठीन छ !” “अब के गर्ने त ?”  “म के गरुँ ?” मैले फेसबुक च्याट अफ गरिदिएँ । मैले यतिखेर उसको लागि, मेरो लागि र मेरो परिवारको लागि गर्न पर्ने र गर्न सक्ने सबैभन्दा उत्तम बलिदान यही नै थियो ।

त्यस दिन दिउँसो खाजा रुचेन । श्रीमतीले खान्दानमा मासको फुलौरा बनाएर हालिदिएकी रहिछ । खासमा, मलाई सबैभन्दा बढी मनपर्ने परिकार हो मासको फुलौरा, तर आज रुचेन । उसको चिन्ताले सतायो । आज म विगतका यादहरु उग्राएर नै अघाएँ ।

हामी सँगै पढेका हौं । हाम्रो घर पैदल १५ मिनेटको दूरीमा थियो । उमेर चढ्दै गयो । जवानी पलाउँदै गयो । वैंशमा स्याल पनि घोर्ले हुन्छ भन्थे, म भएँ, ऊ पनि भई । म उतिबेलै केही लेख्थें । एकदिन उसको प्रशंसा गरेर गीत लेखें । विद्यालयमा गाएँ । वाहवाही पाइयो । मैले उसलाई मनमनै मन पराउन थालेको थिएँ । उसको याद आइरहन्थ्यो । उसलाई भेटौं भेटौं लाग्थ्यो । हुन त उसमा खास कुनै विशेष क्षमता वा विशेषता थिएन । आम केटीमान्छेभन्दा फरक थिइन ऊ । तर पनि मन उसैमाथि बस्यो । जूकोजस्तो मन, जहाँ टाँसियो टाँसियो । अहिलेजस्तो सजिलो थिएन प्रेम देखाउन ।

नयाँ वर्षको मौसममा भारतीय सिनेकर्मीहरुका फोटा (पोस्टकार्ड) साटासाट गरिन्थ्यो । जे लेख्ने हो त्यही कार्डमै लेखिन्थ्यो । चाल पाउनेले त्यही कार्डमा लेखिएको कुरा बुझ्थे र प्रेम अघि बढ्थ्यो, भागेर बिहे गर्थे । चाल नपाउने जिल्लाराम हुन्थे ऊ जस्तै, म जस्तै । कहिलेकाहिँ सँगै फिलिम हेर्न पाइयो भने युद्ध जितेको अनुभव हुन्थ्यो । त्यसैलाई नै प्रेमको विजयको रुपमा लिइन्थ्यो । मैले र नविनाले पनि अलग हुनु पहिले एउटा फिलिम सँगै हेर्ने सौभाग्य पाएका थियौं ।

एसएलसी सकियो । भेटघाट बन्द भो । मेरो जीवनले मलाई एकातिर डो¥यायो उसलाई अर्कोतिर । ऊ सम्पर्क विहीन भई । म जीवन संघर्षमा जीवन र मृत्युको लडाईं लडिरहें । सानो भुगोल भित्र हामी पूर्णतः बिरानो हुन पुग्यौं । उसले भनेकी थिई “सागर, भाग्यले साथ दिएछ भने हामी फेरि भेट्नेछौं !” भाग्यले साथ दिएन, हामीले प्रयत्न गरेर पनि सफल भएनौं । भेट भएन, जीवन अर्कै दिशातिर मोडियो ।
मैले समीक्षासँग बिहे गरें । नविनालाई भेट्ने प्रयत्न सुरुका केही वर्षहरुमा गरिए पनि समीक्षा मेरो लागि नविनाभन्दा कम थिइन । मैले नविनालाई भुलिदिएँ । छोरी जन्मिइ, अपेक्षा । हाम्रो परिवार सानो र सुखी परिवारको रुपमा अघि बढिरह्यो ।

नविनासँग पहिलोपल्ट च्याट भएको लगभग एक महिना भएको छ । आज सपनामा नविनालाई देखें । उसको र मेरो बिहे भएको देखें । मानौं समीक्षा, अपेक्षा कोही थिएनन् मेरो जीवनमा । खाली नविना नै नविना छाइरही सपनै भरि । बिउँझिए पनि झनक्क रिस उठ्यो सपना देखाउनेसँग ।

अफिस गएँ । फेरि फेसबुकमा आइसकेकी रहिछ ऊ । भनें “आज सपना देखें तिम्रो र मेरो बिहे भएको ।” “अब विपनामा चाहिँ कहिले त ?” उसले निर्लज्ज प्रश्न तेस्र्याई । सम्हाल आफैंलाई । के कुरा गरेकी तेस्तो ?” लेखें । “कति सम्हालौं सागर आफैंलाई ? कहिलेकाहिँ आफ्नो जीवन आफैंले सम्हालेर नसम्हालिँदोरहेछ । सम्हाल्ने अरु कोही चाहिने रहेछ !” “म विबाहित हुँ । मेरी छोरी पनि छ ।”

“त के भयो ? म पनि विवाहित नै हुँ । फरक यति हो मेरा कोही छोराछोरी छैनन् । उसले मलाई त्यो मौका नै दिएन ।” “अब जाऊ र उसँग माग छोराछोरी । मसँग यस्ता कुरा नगर । मेरो सुन्दर संसारमा आगो लगाउने प्रयत्न नगर ।”
“तिमीले मलाई मन पराउँथ्यौ । म पनि पराउँथें । तर समाजले मेरो मुखमा बुजो लगाएको थियो । मैले त्यतिखेर स्वीकार गर्न सकिनँ । आज आँट गरेर भन्दैछु । तिमी किन इन्कार गर्छौ ?”

“अब धेरै ढिलो भैसक्यो नविना । मलाई माफ गर म तिमीलाई स्वीकार गर्न सक्दिन । त्यतिखेर तिमीलाई कुन समाजले बुजो लगाएको थियो र आज कुन समाजले तिम्रो मुख खोलिदियो हँ ?” “छोड यी सबै विगत । तिमी यति मात्र सोच, आफूले मन पराएको मान्छेसँग जीवन जिउनुको मज्जा नै बेग्लै हुन्छ । उसै पनि हाम्रो जीवन कति नै वितेको छ र ? उही ३५/३६ का न भयौं ? अझै हामीसँग आधा जीवन त बाँकी छ सागर हिम्मत गर ।”

“अनि अहिलेको यो संसार ? मेरी समीक्षा र अपेक्षा ? अहँ मबाट यति ठूलो अन्याय हुन सक्दैन । तिमी मबाट टाढा होऊ नविना । ममाथि कृपा गर ।” “छोडिदेऊ उनीहरुलाई । आऊ तिमी र म मिलेर अर्को नयाँ संसारको निर्माण गरौं । सामर्थी मान्छे सँधै एउटै संसारमा रमाउँदैनन्, नयाँ नयाँ संसार निर्माण गर्न रुचाउँछन् ।”

“मसँग नयाँ संसार निर्माण गर्ने सामथ्र्य छैन । जाऊ तिमी अरु कसैलाई गोहार गर र बनाऊ तिम्रो आफ्नै संसार ।” “निर्णय दिन यति हतार नगर सागर । विचार गर र मलाई एकहप्तापछि जवाफ देऊ । म तिम्रो साथको प्रतिक्षामा हुनेछु । ”

मन एक तमासाको भो । चक्कर लागेजस्तो, वाकवाकी चलेजस्तो, कपाललका जरा जरा दुखेजस्तो । आज तीन घण्टा अघिनै अफिस छोडें र सरासर घर गएँ ।

“के भो किन यति छिट्टै आउनुभएको ?” समिक्षाको प्रश्न  “किन म छिट्टै आउन नहुने ?” मेरो प्रश्न। “हैन त्यसो भन्न खोजेको होइन । सञ्चो नभएर पो हो कि ?”  “म अब तिमी र अपेक्षासँग अलग भएर बस्न चाहन्छु ।” “के भन्नुहुन्छ ? के भयो र त्यस्तो ?” उसले कहालिँदै सोधी ।

“केही भएको छैन । मैले सोचें र निर्णय गरें ।” “तपाईलाई सञ्चो छैन जस्तो छ । हिँड्नुहोस् डाक्टरकोमा जाऊँ ।” “मलाई ठीक छ । जहाँ जानु छ तिमी नै जाऊ । अब तिम्रो र मेरो कुनै सम्बन्ध छैन ।” “हैन तपाईंको दिमागमा केही समस्या भयो कि जस्तो छ । जाऊँ न डाक्टरकोमा प्लिज ।”

“प्लिज न स्लिज, मैले नेपालीमै बोलिरहेको छु तिमीले बुझेनौ ?”  “हैन भयो चैं के ? आज तपाईं किन यस्तो कुरा गरिरहनुभएको छ ? बिहान अफिस जाँदासम्म त राम्रै हुनुहुन्थ्यो ।” “म अहिले पनि राम्रै छु । बस् मैले आज अफिसमा तिमी र अपेक्षासँग अलग भएर जिउने निर्णय गरें र त्यही निर्णय सुनाउन घर आएको हुँ !”

“तँ जस्तो पागलसँग म अब बस् भनेपनि बस्दिन !” समिक्षा एकैपटक हदभन्दा तल झरी । “तँ कुकुर्नी मलाई तँ भन्ने ?” “तँ कुकुर…. ।” “तँ…… ।” “तँ……….।”

मैले कसेर एक मुक्का प्रहार गरें । ऊ खाटको पल्लो कुनामा बजारिन पुगी । त्यसपछि म घरबाट निस्किएँ र रञ्जना गल्लीछेउको भट्टीमा पुगें ।
जीवनमा कहिल्यै नचाखेको रक्सी आज मैले घटघटी पिएँ र कुनापट्टि फर्किएर धरधरी रोएँ । साँझ ढल्केपछि लर्खराउँदै घर पुगें । अपेक्षालाई काखमा लिएर समिक्षा डाँको छोडेर रुँदै थिई । अपेक्षा भने निर्दोष भावले समिक्षलाई फकाउँदै थिई “ममी नरुनुहोस् न म भोलि चकलेट ल्याइदिन्छु नि!”

त्यस दिनदेखि समिक्षा र मेरो बोलचाल बन्द भो । अफिस फर्किएपछि मैले नविनाको इन्बक्समा म्यासेज छोडें । “मैले तिमीसँग नयाँ संसार बसाउने निर्णय गरें । अबको दुई महिनाभित्र म समिक्षासँग छोडपत्र गरिसक्ने प्रयत्न गर्नेछु । छोडपत्र गरेको दिन बेलुका म तिमीलाई पुनः म्यासेज गर्नेछु र त्यसको भोलिपल्टै हामी विवाह गर्नेछौं ।”

त्यसबीचमा पनि नविना र मेरो बीचमा पटक पटक फेसबुकमा च्याट भइरह्यो । तर हामीले एक अर्कालाई भने छोडपत्र पछि भेट्ने र भेटेकै दिन नयाँ संसारको शुरुवात गर्ने कुरामा सहमत भयौं ।

दुई महिनाको अवधिमा समिक्षा र मेरो बीचमा सँधै झगडा मात्र भयो । मैले उसलाई दिनुसम्म दुःख दिएँ । म रक्सी खाएर आउने र बिना कसुर उसँग झगडा गर्ने निहुँ खोज्न थालें । घरमा आवश्यक कुनै पनि कुरा किनिदिन र पैसा दिन छोडें । अपेक्षाको स्कूल फी पनि तिर्न बन्द गरें । ग्याँस सकियो, चामल सकियो, तरकारी सकियो, घरमा भएका सबै सरसामान सकियो । अब भने समिक्षा मसँग अलगिनुको बिकल्प छैन भन्ने कुरा बुझ्न बाध्य भई । फलस्वरुप आज उसले न्यायाधीसको सामु खडा भएर मसँग छोडपत्रका लागि याचना गरी ।

छोडपत्रमा हस्ताक्षर गरिसकेपछि मेरो मन हलुको भयो । नजिकैको साइबरमा गएँ र हत्तपत्त फेसबुक एकाउण्टमा लग अन गरें । नविना अनलाइनमा थिइन । उसको नाममा एउटा म्यासेज छोडिएको थियो । म्यासेज बक्स खोल्न प्रयत्न गरें । कम्प्युटरको करसर डमरु बनेर नाचिरह्यो । खुल्दै खुलेन ।

मलाई भने कतिखेर म्यासेज हेरुँ र नविनासँग छोडपत्र भएको खबर शेयर गरुँ भैसकेको थियो । एकपटक कम्प्युटर रिस्टार्ट गरें र पुन अकाउण्ट लगअन गरें । यसपटक अघिल्लो पटकभन्दा कम्प्युटर केही फास्ट भयो । फेसबुकमा उसले छोडेको म्यासेज क्लिक गरें । फटाफट खुल्यो ।

“सागर मलाई माफ गर । हिजो साँझ मात्र मेरो श्रीमान्लाई डी.भी. चिट्ठाको कन्फर्मेशन लेटर आयो । यही फेब्रुअरी दोस्रो साता हामी दुबै जना अमेरिका उड्ने भयौं । आजदेखि म फेसबुक अकाउण्ट पनि बन्द गर्दैछु । मलाई सम्पर्क गर्ने कोशिस नगर्नू । फेरि एकपटक समयले हामीलाई एक हुनबाट रोक्यो । मलाई बुझ्ने कोशिष् गर । उही तिम्रो हुन नसकेकी नविना !”

कम्प्युटरको स्क्रिन धमिलो हुँदै गयो । मेरा हात गोडा लल्याकलुलुक भए । म बोल्नै नसक्ने भएँ । दुई हातले आफ्नै कपाल गजल्ट्याएँ र सुइøøय गर्दै लामो सुस्केरा हालें ।

 

सम्बन्धित समाचार

Loading...