fbpx

इलाममा स्थायी लेखा नम्बर लिने बढे

इलाम ४ असोज । सरकारले स्थायी लेखा नम्बर (प्यान)नम्बर लिन सबैलाई अनिवार्य गरेपछि इलाममा पनि प्यान नम्बर लिनेको सङ्ख्या बढेको छ ।

सरकारले यस आर्थिक वर्षको शुरुबाटै स्थायी लेखा नम्बर लिन ताकेता गरेसँगै इलामको कर कार्यालयमा नम्बर लिने ह्वात्तै बढेको हो। करदाता सेवा कार्यालय इलामबाट हालसम्म ७ हजार ६ सय ६६ ले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । कार्यालयबाट हालसम्म आयकर ८ हजार ८ सय ३८ ले लिएका छन् ।

मूल्य अभिवृद्धि करतर्फ ६ सय ९१ फर्म दर्ता भएका छन् । अन्तशुल्कतर्फ ७ सय ७० फर्म कर कार्यालयमा दर्ता भएका छन् । यस्तै संस्थागत प्यान नम्बर लिनेको सङ्ख्या ३२ रहेको छ । इलाममा हालसम्म १७ हजार ९ सय ९७ करदाता रहेको तथ्याङ्क छ ।

कार्यालयमा अहिले हरेक दिन व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको भीड बढी नै रहेको कर अधिकृत प्रकाश राईले बताए । सरकारले हरेक व्यक्तिले स्थायी लेखा नम्बर लिन अनिवार्य गराएपछि मानिसको चाप कार्यालयमा बढेको उनको भनाई छ । विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएपछि कर्मचारीमा कार्यबोझ पनि बढेको छ । कार्यालयबाट अहिले दैनिकजसो ५०–६० जना सेवाग्राहीले स्थायी लेखा नम्बर लिइरहेका छन् ।

Loading...