fbpx

अरुण नदीमा बेपत्ता भएकाहरुको खोजी जारी, पानी परेपछि खोजी गर्न कठिनाई

संखुवासभा ३ असोज । संखुवासभाको धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट अरुण नदीमा खसेर बेपत्ता भएकाहरुको खोजी कार्य पानी परेपछि रोकिएको छ ।

शुक्रबार बिहान देखि चार जना गोताखोरहरुले खोजी गरिरहेपनि दिउँसो पानी परेपछि खोजी कार्य प्रभावित भएको हो । अरुण नदीमा गोताखोर टोलीले विभिन्न उपकरणहरुको सहयोगमा खोजी गरिरहेपनि वर्षा शुरु भएपछि नदीमा पानीको बहाव बढेपछि टोली फर्किएको छ ।
काठमाण्डौबाट पुगेको गोताखोर टोलीले दुई दिनसम्म खोजी गर्दा पनि अरुण नदीमा खसेको जीप र त्यसमा रहेका यात्रुहरुबारे पत्ता लाग्न सकेको छैन् । गोताखोरको टोलीले सडकबाट जीप खसेको वरपर पानी भित्रसम्म डुबेर खोजी गरेका हुन् । ४० फिट गहिरो स्थानमा जीप खसेको थियो । केही दिन अघि संखुवासभाबाट विरामी बोकेर आएको जीप खस्दा एकैपरिवारका तीन जना सहित ६जना बेपत्ता भएका छन् । भोली विहानदेखि फेरी खोजी कार्य शुरु गर्ने संखुवासभा प्रहरीले जनाएको छ ।

अरुण नदिको अक्करको भिरमा जीप खसेको ठाउँमा पानीको गहिराइ ४० फिट रहेको खोजी कार्यमा संलग्न हवल्दार बलराम अधिकारीले बताउनुभयो । बगेको पानी र अरुण नदीको छाल ठूलो भएकाले गहिराइसम्म पुगेर खोजी गर्न गोताखोर टोलीलाई समस्या भइरहेको छ ।

Loading...