fbpx

बढी शुल्क लिएको भए फिर्ता गर्न त्रिविविको आग्रह

काठमाडौं ३ असोज । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसँग वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न भनेको छ ।

त्रिविविको सम्बन्धनप्राप्त कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क कलेज प्रशासनले उठाएको भन्दै आन्दोल गर्दै आएका छन् । त्रिविविले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेज प्रशासनले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन विद्यार्थीलाई आग्रहसमेत गरेको छ ।

“विश्वविद्यालय पनि समस्याको समाधान वार्ता नै हो भन्ने कुरामा दृढ रहेको छ । विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशीलस्थानमा बाधा र अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन विद्यार्थी, अभिभावक र सम्बन्धित पक्षसित विश्वविद्यालयले अनुरोध गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को गत साल असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौँ उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ तथा बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

Loading...