fbpx

संविधानले नेपालको राष्ट्रिय एकता बलियाे बनाएकाे छ– मुख्यमन्त्री राई

विराटनगर, ३ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालकाे राष्ट्रिय एकता दरिलाे भएकाे बताएका छन् । चौंथो संविधान दिवसको अवसरमा विराटनगरमा आयोजित विषेश समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संविधान दिवसले नेपालकाे राष्ट्रिय एकता दरिलाे रहेकाे सन्देश दिएकाे बताएका हुन् ।

संविधान दिवसकाे अवसरमा ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने काम भएकाे बताउँदै  उनले   सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद नरहेकाे प्रष्ट पारेकाे बताए । ‘हामी तपाई र सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद छैन हामी सबै एक छौ, एक रहन चाहन्छौ भन्ने स्पष्ट गर्दछ ।’ मुख्यमन्त्री राईले भने ‘ यसले नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिएको छ ।’

सम्बाेधनका क्रममा उनले जनताका अधिकारलाई व्यावहारमा रुपान्तरण गर्न चुनौती रहेको बताए । ‘संविधान स्वतः आफै कार्यान्वयन हुने होइन ।’ मुख्य मन्त्री राईले भने ‘नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने हो । प्रदेश सरकार संविधानलाई व्यवहारमा लागु गर्ने कसरतमा छ, यो अभ्यास जारी छ ।’

तीन तहका सरकारबीच शासन सञ्चालनमा कुनै समस्या, द्विविधा वा विवाद नरहेको उनले बताए । तीन तहका सरकारबीच कानुनी र संरचनागत आधार खडा गरी संस्थागत रुपमै समन्वय, सहकारिता र सहयोगात्मक कार्य शुरु भएको उनको भनाई छ । पछिल्लो समय देखिएको द्विविधा र जटिलता आपसी छलफल, समन्वयबाट हल गर्ने संस्कृतिको विकास संघीय प्रणालीको अभ्यासमा सुखद् पक्ष भएको उनले बताए ।

मुख्यमन्त्री शेरधन राईको सम्बोधनकाे (पूर्णपाठ)

सर्वप्रथम संविधान दिवस २०७६ को यस अवसरमा सबैमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । संघीयता, गणतन्त्र स्थापना तथा लोकतान्त्रिक आन्दोलनका शहीदहरुप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । घाईते वीर योद्धाप्रति सम्मान प्रकट गर्न चाहन्छु ।

नेपालको संविधान, नेपाली जनताले गरेको लामो आन्दोलन, संघर्ष र बलिदानवाट प्राप्त उपलव्धीहरु सहितको जनभावना र अपेक्षाहरुलाई सम्बोधन गर्ने मुल दस्तावेज हो । यो सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण, भुगोलका जनतालाई एकताको सुत्रमा अवद्ध गर्ने माध्यम हो । अर्थात संग्लो नेपाल राष्ट्रको वलियो जग हो, राष्ट्र निर्माणको वलियो आधार स्तभ हो । सबै नेपालीको पहिचान एकता र समानतालाई महत्व दिन र विविधताको रक्षा गर्ने छाताको रुपमा पनि नेपालको संविधानलाई बुझ्न सकिन्छ ।

यतिखेर हामी संघीयताको अभ्यास गर्दै संविधानको कार्यान्वयनको चरणमा छौ । संघ, प्रदेश तथा स्थानीय तहको संवैधानिक दायरा स्पष्ट छ। यसै अनुरुप नै तिन तहका सरकारले कार्य गर्दैछ। सहकारीता, सह९अस्तित्व र समन्वयको मान्यतालाई तिनै तहका सरकारहरुले अंगिकार गरेका छन्। शासन सञ्चालनमा कुनै समस्या, द्विविधा वा विवाद नरहेको कुरा पनि म स्पष्ट पार्न चाहन्छु । त्यतिमात्र होइन, कानुनी र संरचनागत आधार खडा गरी संस्थागत रुपमै समन्वय, सहकारिता र सहयोगात्मक कार्य तीन तहका सरकार वीच शुरु भइसकेको छ । कार्यगतरुपमा रहेका द्विविधा र जटिलता आपसी छलफल, समन्वय एंव समझदारीबाट हल गर्ने संस्कृतिको विकास भएको छ । संघीय प्रणालीको अभ्यासमा यो सुखद् पक्ष हो ।

संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती पनि हो । संविधान स्वतः आफै कार्यान्वयन हुने होइन । नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने हो । प्रदेश सरकार संविधानलाई व्यवहारमा लागु गर्ने कसरतमा छ, यो अभ्यास जारी छ ।

स्वच्छ, सुखी र समुन्त प्रदेशको मुल दृष्टिकोण सहित हामीले पहिलो आवधिक योजनाको थालनी गरेका छौ । कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास हाम्रो प्राथमिकतामा छन् । समावेशी सहभागीता र न्यायपूर्ण समाज निर्माणलाई हामीले महत्व दिएका छौ। सबै समुदायको धर्म, संस्कृति, भाषा, लिपी कला र साहित्यको संरक्षण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सपना र ध्येयमा विशेष योगदान पुरयाई सवल राष्ट्र निर्माणको कार्यलाई मजबूत बनाउने सरकारको अभिप्राय रहेको छ ।

यस प्रदेशमा मूलभूत सवालहरुमा राजनीतिक दलहरुबीच एकता कायम गर्ने असल संस्कारको विकास भएको छ । स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने हाम्रो साझा चाहना प्राप्त गर्ने यो वलियो आधार हो । हामीले कानुन निर्माणमा मात्र होइन, अन्य महत्वपूर्ण निर्णयहरुमा मात्र होइन, दुइवटा संविधान सभावाट टुंगिन नसकेको प्रदेश राजधानी तोक्ने विषयमा समेत भएको सर्वसम्मत निर्णयलाई एउटा सशक्त तथ्य र उदाहरणको रुपमा लिन सकिन्छ । मलाई विश्वास छ प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सवै राजनैतिक दलहरुको सहमतीमा प्रदेशको नामांकन पनि छिट्टै टुंगिनेछ ।

नेपालको संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न विकास, समृद्धि, राष्ट्रिय एकता तथा जनहितका विषयमा दलिय संवाद गर्ने र सहमति निर्माणको आवश्यकता अझ टडकारो रहेको कुरा पनि सवैमा राख्न चाहन्छु । यस तथ्यलाई मध्य नजर गर्दै हामी राजनैतिक दलहरुबीच लोकतान्त्रिक संस्कार निर्माण गर्दै सहि बाटो तर्फ अघि बढन आजको दिनले हामी सवैलाई प्रेरित गर्न सकोस म यो समेत कामना गर्न चाहन्छु ।

संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा लागु गर्ने दायित्व र प्रतिवद्धतालाई हामीले उच्च महत्व दिएका छौ । गरिवी निवारण, रोजगारी सिर्जना, आयस्तरमा वृद्धि हामीले तय गरेका मूलभूत लक्ष्य हुन् । गुणस्तरीय शिक्षा, प्राविधिक ज्ञान सिप र तालिमको माध्यमबाट युवाहरुको सशक्तिकरण गर्ने उद्देश्य रहेको छ । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने ध्येय सरकारको रहेको छ। यसका लागि हामीले स्पष्ट कार्यक्रम र योजना तयार गरेका छौ ।

सार्वजनिक सेवालाई व्यवस्थित, कम खर्चिलो र पहुँच योग्य बनाउन सरकारी निकायहरुको कार्यप्रणालीमा सुधार थालिएको छ । आम जनताले अनुभूति गर्न सक्ने गरी सार्वजनिक सेवाको सुदृढिकरण गर्ने सरकारको प्रतिवद्धता म दोहोर्याउन चाहन्छु । भ्रष्टाचार नियन्त्रण र सुशासनको माध्यमबाट नै संविधानले स्थापित गरेको लोकतान्त्रिक शासन पद्धतिको मर्मलाई बल पुग्दछ । भ्रष्ट्राचारमा शुन्यसहनशीलताको नीति अवलम्वन गर्दै हामी सधै भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा छौ । शासकीय पद्धतिलाई जवाफदेही, पारदर्शी एवं कानून सम्मत बनाउन सरकार सदैव क्रियाशील छ । यस दिशामा हामीले पहल थालिसकेका छौ ।

यसपटकको संविधान दिवस देश भरी नै आम जनसमुदायको सहभागितामा थप हर्सोल्लासको साथ मनाईदै छ । राष्ट्रिय एकता, अखण्डता र राष्ट्रको सम्मान सम्झौता हिन विषय हुन् । हामी नेपाली हुनुमा गौरव गर्छौ, हाम्रो मातृभूमिको शीर अझ उच्चो भएको हेर्न चाहन्छौ, उच्चो बनाउन चाहन्छौ । त्यसैले राष्ट्रिय एकताको प्रतिकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको यसपटक व्यापक प्रयोग भएको छ ।

ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध गरिएको छ । हामी तपाई र सवैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद छैन हामी सबै एक छौ, एक रहन चाहन्छौ भन्ने स्पष्ट गर्दछ । यसले नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिएको छ ।

यसपटक हामी अत्यन्तै गौरवान्वित छौ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माइला प्रदिप कुमार राई ओखलढुंगा, २४ पटक सगरमाथा आरोहण गर्ने विश्वकिर्तीमानी कामीरिता शेर्पा सोलुखुम्वु र अल्ट्रा म्याराथुनको माध्यमवाट संसारभर नेपालको झण्डा फहराउदै नेपाललाई चिनाउन सफल मिरा राई  यसप्रदेशले जन्माएका छोरी र छोराहरु हुनुहुन्छ । प्रदेश सरकारको तर्फवाट सम्मान गर्न पाउदा हामीले गर्वको महशुस गरेका छौ । म हामी सवैको तर्फवाट, सम्पुर्ण प्रदेशवासी दाजुभाई दिदीवहिनीहरुको तर्फवाट हार्दिक वधाई भन्न चाहन्छु , हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । आगामी दिनहरुका लागी उत्तरोत्तर प्रगति र सफताको कामना गर्दै स्वच्छ सुखी र समुन्नत प्रदेश वनाउने प्रदेश सरकारको लक्ष्य संग जोडिदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय ध्येयमा यहाहरुको उल्लेखनीय योगदान रहनेछ भन्ने पुर्ण विश्वास समेत व्यक्त गर्न चाहन्छु ।

अन्तःमा संविधान दिवसको यस अवसरमा यहाँ पाल्नु भएका सबै महानुभावहरु र प्रदेश भित्रका आम दाजुभाई दिदिबहिनी तथा देश भित्र र बाहिर रहनु हुने सबै नेपालीहरुप्रति सुख, समृद्धि, एकता, सहिष्णुता र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।

Loading...