fbpx

अरुले काउकुती लगाउदा हाँस उठ्ने, आफूले गर्दा केही नहुने ?

विराटनगर, ३ असोज । शरीरको कुनै निश्चित अंगमा अरुले छुँदा काउकुती लाग्ने गर्छ । प्रायजसो बच्चाहरूलाई हसाउनका लागि काउकुती लगाइने गरिन्छ । काउकुती लगाएपछि उनीहरू पन्नी एकदम खुलेर हाँस्ने गर्छन् । बच्चालाई मात्र नभइ ठूला मान्छेलाई पनि शरीरका निश्चित अंगमा काउकुती लगाउँदा हाँस उठ्ने गर्छ ।

तर, मानव शरीरम यसरी छुँदा किन काउकुती लाग्छ ? र, लागेपछि किन बेस्सरी हाँस उठ्छ ? यस विषयमा कहिल्यै विचार गर्नुभएको छ ? वैज्ञानिकहरूका अनुसार आक्रमणकारी वा पीडकबाट तनावपूर्ण अवस्थामा जोगिनका लागि वा चोट लाग्नबाट बच्नको लागि आफू झुकेको भन्ने संकेत पठाउन मानिसको विकासक्रमको एक भागका रूपमा काउकुती लाग्ने गरेको हुन्छ ।

खासमा शरीरमा उत्पन्न भएका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्ने गर्छ । छालाको सबभन्दा बाहिरी पत्र अर्थात् एपिडर्मिस कैयौं नसाहरूसँग जोडिएको हुन्छ । कसैले शरीरको कुनै अंगको छालालाई छुँदा त्यसको सन्देश मस्तिष्कमा पुग्छ र उक्त स्पर्शको विश्लेषण गर्छ । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ ।

त्यसैले हाड कम भएका अंग जस्तो पेट र पाइतालामा बढी काउकुती लाग्ने गर्छ । छालाले मस्तिष्कलाई तत्कालै सन्देश पुर्याए पछि पेट, कोखा र गलामा औंलाले छुँदा काउकुती लागेर हाँसो छुट्छ । बीबीसीका अनुसार काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले व्यक्तिलाई पीडाको पनि सूचना दिने गर्छ । त्यसैले काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै सतर्क गर्ने गर्छ ।

हामीले आफैँलाई काउकुती लगाउँदा हामीमा कुनै पनि भय रहँदैन र दिमागको अन्य भागबाट प्राप्त संवेदात्मक संकेत नियन्त्रणमा रहन्छ । यसले गर्दा हामीलाई आफैंलाई काउकुती लगाउँदा हाँसो नउठेको हो । तर, काउकुती लगाउँदा हाँसो उठ्ने नउठ्ने कुरा दिमागको स्थितिमा पनि भर पर्छ । कुनै व्यक्ति एकदमै रिसाएको बेलामा उसलाई काउकुती कम लाग्छ र लागेपनि हाँसो उठ्दैन ।

Loading...