fbpx

डेङ्गुबारे भ्रममा नपर्न भन्दै वरिष्ठ चिकित्सकहरुले भनेः यो महामारी होइन

काठमाडौं, २ असोज । देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । उनीहरुले डेङ्गुका कारण मृत भएका भनिएकाहरुको ज्यान जानुको कारण डेङ्गुनै हो भन्ने यकिन नभइसकेको बताए ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवका सल्लाहकार तथा जनस्वास्थ्य विज्ञ डा. के. के. राईले डेङ्गुबाट त्रसित हुनु नपर्ने बताए । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै उनले यसको रोकथामको उपाय रहेको बताए । रोग फैलाउने लामखुट्टे नियन्त्रणको लागि सबैले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने बताउँदै उनले त्यसमा आम जनसमुदायको साथ हुनुपर्ने बताए । डेंगु रोगविरुद्ध सिंगो देश एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

साक्षात्कारमा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु रोग त्रसित हुनुपर्ने खालको नभएपनि काठमाडौंलगायत देशका पहाडी भेगमा नयाँ भएकाले त्रास उत्पन्न भएको बताए । उनले भने,‘यो महामारी होईन, धेरै नेपालीका लागि नयाँ भएकाले त्रास उत्पन्न भएको हो ।’ डेङ्गु रोगको पहिचान गरी समयमै उपचारमा लाग्न सकिने बताउँदै उनले यो रोग निको हुने खालको भएको र एक अर्कालाई नसर्ने स्पष्ट पारे ।

डा. बास्तोलाले डेङ्गुले टोकेको चारदेखि दश दिनमा लक्षण देखापर्ने, १० हजार जनालाई टोकेमा १ हजारमा डेङ्गु हुने र सातदेखि दश दिनसम्म यसका लक्षण शरिरमा रहने, १ हजारमा पनि ५ सयलाई फ्लु हुने, ५ सयलाई डेङ्गु हुने जानकारी दिए ।

उनले अस्पतालमा डेङ्गु रोगीमात्र नभएर स्क्रब–टाइफसका रोगी देखिएको बताए । उनले डेङ्गु रोगका कारण बिरामीमा रक्तश्राव हुने तथा जटिल लक्षण देखा परेकोलाई मात्र अस्पताल भर्ना गर्ने गरेको सुनाए । यो रोग लाग्दा शरीरमा सेतो रक्तकोषिकाको मात्रा घट्दै जाने, खान मन नलाग्ने, अत्यन्त पीडा हुने र अन्तमा रक्तश्राव हुने लक्षण देखापर्ने पनि उनले जानकारी दिए ।

उनले विरामीको कलेजो, मृगौलामा समस्या देखा परेमा आइसियूमा राखेर उपचार गर्ने गरेको जानकारी गराए । डेङ्गु रोगका विषयमा मिडियाले भ्रम फैलाएको हुँदा सामान्य विरामीहरु पनि डेङ्गुको डरले अस्पताल जाने गरेको उनको भनाई छ ।

Loading...