fbpx

धराैटीमा छुटे लगतै विकल्पले छाडे विप्लव समूह

विराटनगर, २ असोज । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका जिल्ला नेताले पार्टी परित्याग गरेका छन् । विप्लव समुहका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प)ले पार्टी परित्याग गरेका हुन् ।

हतियार र विस्फोट घटनामा पक्राउ परेका राईले अदालतबाट छुटे लगतै बिहीबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन् । पार्टीले लिएको सिद्धान्त ठिक भएपनि व्यवहार गलत भएकाले आफू अलग भई स्वतन्त्र नागरिकको रुपमा रहने उनले राईले बताए ।  ‘पार्टीको गतिविधिप्रति म असन्तुष्ट छु,’ उनले भने, ‘हिंसात्मक गतिविधि गर्ने, तर जिम्मा नलिने, सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले मलाई असन्तुष्ट बनाएको हो ।’

२०६३ सालदेखि तत्कालिन माओवादीमा संलग्न भएका उनी पार्टी विभाजन भएसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित भएपछि विप्लव नेतृत्वको नेकपामा लागेका थिए ।

उनी गत असार ९ गते मोरङको बेलबारीबाट पक्राउ परेका थिए । प्रहरीले सुनसरीमा संगठित अपराध, हातहतियार खरखजना अभियोगमा जिल्ला अदालत सुनसरी इनरुवामा मुद्दा दर्ता गराएको थियो ।

अदालतले सादा तारेकमा गत भदौ २४ गते रिहा गर्न आदेश दिएपनि पुनः बेलबारीमा भएको बम विष्फोटमा प्रहरीले पक्राउ परेका थिए । जिल्ला अदालत मोरङले २६ गते सादा तारेकमा छोड्न आदेश दिएपनि उनलाई पुनः प्रहरीले अभद्र व्यवहारमा मुद्दा हालेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई ४ हजार धरौटीमा बिहीबार छाडेको थियो ।

Loading...