fbpx

खण्डहर ‘डी’ प्लटबाट १ करोड, आलिसान ‘सी’ प्लटबाट ३१ लाख मात्र भाडा असुली

विराटनगर महानगरपालिकाको व्यवसायीक भवनको भाडादर अवैज्ञानिक

विराटनगर, २ असोज । विराटनगर बजार क्षेत्रमा सटर भाडा पाउन मुस्किल पर्छ । भाडा पाइहाले मासिक ४० हजारभन्दा बढी तिर्नुपर्छ । तर, विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको व्यावसायीक भवन भने वर्षाैँदेखि न्यून दरमा भाडा लगाएको पाइएको छ ।

विराटनगरको मुख्य बजार बुधहाट चोकमा रहेको ‘सी’ प्लटका सटरहरू मासिक सरदर १० हजार रुपैयाँमा भाडामा लगाइएको हो । सी प्लटसँगै जोडिएको डी प्लटमा एउटा सटरको भाडा मासिक २१ हजारदेखि १ लाख २८ हजार रुपैयाँसम्म छ । खण्डहर बनेको डी प्लटबाट महानगरले मासिक ८ लाख ७८ हजार भाडा उठाउँछ । तर, सुविधा सम्पन्न ‘सी’ प्लटबाट भने चालु आर्थिक वर्षमा ३१ लाख ९३ हजार मात्र भाडा उठाउनेछ ।

aa

सी प्लटका ३० वटा सटर भाडा लगाउने गरी उपभोक्ता समिति र महानगरबीच २०७३ असार अन्तिम साता सम्झौता भएको थियो । सम्झौताअनुसार चालु आर्थिक वर्षमा उपभोक्ता समितिले तीन–तीन महिनामा ८ लाख भाडा महानगरपालिकालाई बुझाउँछन् । तर, सो भवनको भुइँ तल्लामा बसेका व्यापारीले स्कायरफिटका आधारमा २० हजारदेखि माथि भाडा तिर्छन् । तर, सरदर रूपमा महानगरले तीसवटा सटरबाट मासिक ८ हजारका दरले भाडा पाउँछ ।

विराटनगर महानगरपालिका–९ वडाध्यक्ष विश्वनाथप्रसाद भगत मुख्य सडकसँग छोएका र भित्र रहेका सटरको बेग्लै मुल्याङक्नका आधारमा भाडा लागेको बताउँछन् । बजारभन्दा तुलनात्मक रूपमा सस्तो भाडामा लागेको बताउँदै उनले स्थानअनुसार छुट्टा–छुट्टै भाडा रहेको बताए । जनप्रतिनिधि आउनुभन्दा अगाडी नै भाडा लागेकाले सुधार गर्दै जाने उनले बताए ।

उपभोक्ता समितिमार्फत ठेक्का लागेको ‘सी’ प्लटको भाडा वार्षिक रूपमा २० प्रतिशतले बढ्ने सम्झौता पत्रमा उल्लेख छ । २०७३–७४ बाट पाँच वर्षका लागि ठेक्का लिएको उपभोक्ता समितिले पहिलो वर्ष १८ लाख ४७ हजार ९ सय ३० रुपैयाँ भाडा तिरेको थियो । दोस्रो वर्ष २२ लाख र तेस्रो वर्ष २६ लाख तिरेको उपभोक्ता समितिले चालु आर्थिक वर्ष ३१ लाख तिर्नेछ ।

महानगरपालिका राजस्व शाखाका प्रमुख राजेन्द्र प्रधान वार्षिक २० प्रतिशतका रूपमा बढ्नेगरी भएको सम्झौताअनुसार चालु आर्थिक वर्ष वार्षिक भाडा ३१ लाख ९३ हजार रुपैयाँ संकलन हुने बताउँछन् ।

‘डी’ प्लट छाड्न निवेदन

विराटनगर–९ बुधहाट चोकमा महानगरपालिकाले ‘सी’ र ‘डी’ गरी दुई वटा व्यवसायीक भवन सञ्चालनमा छन् । ‘ए’ र ‘बी’ प्लट भने पार्क निर्माणका लागि खाली गराइएको छ । महानगरले उपभोक्ता समितिमार्फत सञ्चालन गरेको ‘डी’ प्लटबाट असार अघिसम्म मासिक ३८४ रुपैयाँदेखि अधिकतम ३ हजार १ सय ५० रुपैयाँसम्म भाडामा लागेको थियो ।

hj

‘डी’ प्लटका लागि महानगरले नयाँ टेण्डर आह्वान गरेपछि न्यूनतम २५ हजारदेखि अधिकतम १लाख २८ हजारसम्म भाडा लागेको छ । तर, एक वर्षका लागि भाडामा लिएकाहरूले सटर छोड्ने तयारीमा पुगेका छन् । अस्तव्यस्त सडकका कारण घरबाट ल्याएर सटर भाडा तिर्नुपर्ने अवस्था आएपछि व्यापारीहरूले सटर खाली गर्नका लागि निवेदन दिएका हुन् । महानगरपालिका राजस्व फाँटका प्रमुख प्रधानका अनुसार ६ जनाले सटर छोड्नका लागि निवेदन दिएका छन् ।

अध्यक्ष भन्छन्, ‘दुई वर्षपछि हाम्रो अवस्था पनि त्यस्तै हुन्छ’

‘सी’ प्लट उपभोक्ता समितिका अध्यक्ष रामअवतार शर्मा सटर भाडाबापत उठेको सबै रकम महानगरपालिकामा भाडाबापत बुझाउने गरेको बताउँछन् । मुख्य सडकमा रहेका र भित्र रहेका सटरहरू स्वायर फिटका आधारमा भाडामा लागेको गरेको बताउँदै उनले व्यवसाय नचल्दा भाडा तिर्नपनि समस्या हुने बताए ।

‘डी’ प्लट पनि महंगोमा भाडा लिएकाहरू छाड्ने स्थीतिमा पुगेको बताउँदै उनले महानगरले भाडा वृद्धि गरे आफ्नो अवस्था पनि ‘डी’ प्लटका व्यापारीहरूको जस्तै हुने बताए । महानगरले भाडामा वार्षिक २० प्रतिशत भाडा वृद्धि गर्दै आएका भाडा पनि अव्यवहारिक भएको उनको गुनासो छ ।

Loading...