fbpx

सौगात र अर्पणको नयाँ लूक्ससहित ‘लप्पन छप्पन २’ को पोस्टर सार्वजनिक

विराटनगर, २ असोज । फिल्म ‘लप्पन छप्पन २’ को फर्स्ट लूक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका दुई मुख्य अभिनेता सौगात मल्ल र अर्पण थापालाई मात्र स्थान दिइएको छ ।

aa

पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लूक्समा देखाइएको छ । अर्पणको हेयर स्टाइलले दर्शकहरूको ध्यान खिच्ने देखिन्छ । फिल्मको अघिल्लो पार्टमा पनि प्रमुख भूमिका निर्वाह गरेका सौगात र अर्पणले ‘लप्पन छप्पन २’ मा भने नेगेटिभ भूमिकामा देखिने भएका छन् । उक्त पोस्टरको पृष्ठभूमिमा फिल्मका केही कलाकारहरू फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावरतर्फ हेर्दै गरेको देखिन्छ । फिल्मको बाँकी छायांकन अष्ट्रेलियामा हुँदैछ ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, देव कुमार, सुरविना कार्की, सृजना सिनाललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा बन्दै गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने भएका छन् । फिल्मको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेले लेखेका छन् । फिल्मको नाम र कलाकार दोहोरिए पनि फिल्मको कथा बेग्लै हुने निर्माण टिमले बताएको छ ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा निर्मातामा चिजकुमार श्रेष्ठ र प्रजापति शिवाकोटी, सह–निर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना र कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मलकुमार मिश्र रहेका छन् । फिल्म महाशिवरात्रीको दिन प्रदर्शनमा आउने भएको छ ।

Loading...