birat ribon

ई चुरोटले स्वास्थ्यमा निम्त्याउने जोखिमहरू

Neuro
ई चुरोटले स्वास्थ्यमा निम्त्याउने जोखिमहरू

विराटनगर, २ असोज । परम्परागत धूम्रपान सेवनले स्वास्थ्यमा असर पर्ने भन्दै विकल्पको रूपमा इलेक्ट्रिक चुरोट अर्थात् विद्युतीय चुरोटको प्रयोग हुँदै आएको छ । पछिल्लो समय बजारमा निकै चर्चा कमाएको ई चुरोटले पनि स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ ।

ई चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्ने देखाएको छ । ई चुरोट प्रयोग गर्ने व्यक्तिहरूमा भिन्ना भिन्नै किसिमका फोक्सोसम्बन्धी कमजोरीहरू, श्वास फेर्न कठिन भएको र छाती दुखेको समस्या देखिन थालेका छन् । यस्ता चुरोट प्रयोग गरेर देखिएको समस्याका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको समेत अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

cura insider

सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई चुरोट सेवन गर्ने गरेको देखिएको छ । आर्सनल ग्यास प्रयोग हुने यी चुरोटहरू तान्दा इलेक्ट्रिसिटीको माध्यमबाट यसमा रहेको तरल वाफिलो धूवाँमा परिणत हुन्छ र यसमा आफूलाई चाहिएअनुसारका सुगन्ध राखेर झनै आर्कषक बनाउन सकिन्छ । यसरी बन्ने ई चुरोटलाई भेपोराइजर अर्थात् भेप भनेर पनि भनिन्छ । यस्को प्रयोगलाई भेपिंग भनेर बुझिन्छ ।

मानव मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिँदा त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर पर्छ भन्ने परीक्षणमा देखिएको नतिजालाई आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ । ई चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले निकोटिन भएका कुनै पनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक हुने अध्ययनकी लेखिका अटेना जाहेदीले बताएकी छन् ।

यी चुरोटहरू नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट मस्तिष्कका कोषिकाहरू मर्ने वा रोगी हुने अध्ययनमा भनिएको छ । युवा र गर्भवतीका मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले यसबाट टाढा नै रहनु पर्ने भएर सुझाव दिएकी छन् । उनले युवा, किशोरावस्था हुँदा मस्तिष्कमा ई चुरोटको सेवनले स्मरण शक्ति, सिकाइ र बोधमा ठूलो क्षति पुग्ने उनको भनाइ छ ।

अमेरिका बाहेक अन्य देशहरूमा समेत यसको प्रयोग निकै भएको देखिन्छ । अमेरिकी सरकारले विभिन्न किसिमका सुगन्ध दिने यस्ता खाले चुरोटलाई प्रतिबन्धसमेत गरिसकेको छ । हालै भारतमा पनि ई चुरोट प्रतिबन्ध गरिएको छ ।

jackson ribon