fbpx

यसकारण झुण्ड्याइन्छ ढोका तथा गाडीमा कागती र खुर्सानीको माला

विराटनगर, २ असोज । अधिकांश पसलहरू तथा सवारी साधनको अगाडि कागती र खुर्सानीलाई धागोमा बाधेर माला बनाएर झुण्ड्याएको देखिन्छ । पसल तथा साधनमा कसैको खराब नजर नलागोस् भनेर उक्त माला झुण्ड्याइने मान्यता छ । साथै धेरै मानिसहरूले कागती र खुर्सानीको मालाले भविष्यमा हुन सक्ने दुर्घटना तथा क्षतिलाई टार्न सकिने विश्वास राखेका हुन्छन् ।

यसलाई धेरैले अन्धविश्वास, पहिलाका मान्छेहरूले काम नभएर घरलाई सजाउनका लागि गरेको भनेर टार्न सम्मत खोजेका हुन्छन् । तर, कागती र खुर्सानीको यो संयोगले स्वास्थ्यलाई समेत राम्रो बनाउने वैज्ञानिकहरुले बताएका छन् । कुनै पनि व्यवसाय वा मेसिनरी सामाग्रीको प्रयोगमा जोखिम हुने हुँदा वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाइने गरिन्छ ।

तर, पहिलाको अन्धविश्वास मानिने कुराहरू अहिले आएर विभिन्न अनुसन्धानका आधारले किन गरिएको भनेर पत्ता लगाउने क्रम जारी छ । घर तथा पसलको आसपासमा कागतीको रूख भएमा वातावरण स्वच्छ हुनुका साथै मानसिक विचार तथा सोचमा सकारात्मक असर आउने गर्छ । घर तथा पसल आसपासमा विविध कारणले सबैले रूख रोप्न नसक्ने भएका कारणले एउटा कागती र सातवटा खुर्सानीलाई राखेर धागोमा उनेर माला बनाएर काम चलाउने गरेका हुन्छन् ।

हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ । खुर्सानीको रागले समेत प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछ । कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कएर वातावरणमा फैलिन्छ । उक्त कागतीको सुगन्धले मूड फ्रेश गराउनुका साथै वातावरणमा हुने विभिन्न किराहरूलाई पनि भगाउने गर्छ ।

पहिलाको जमानामा किटनाशक औषधिहरू नपाउने हुँदा कागती र खुर्सानीको प्रयोग गरिने गरिन्थ्यो । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउने गर्छ । कागती र खुर्सानी एक हप्ताभित्र बासी हुने भएकाले प्रत्येक हप्तामा यसलाई परिवर्तन गरिरहनु पर्छ । यो माला वास्तुदोषलाई हटाउनका लागि मात्र नभएर स्वास्थ्यका लागि समेत लाभदायक हुने गर्छ ।

Loading...