fbpx

पत्रपत्रिकामा प्रदेश : चाडपर्व शुरु भएपनि बजार अनुगमन भएन्

विराटनगर २ असोज । चाडपर्व शुरु भएपनि प्रदेश १ को राजधानी विराटनगरमा अझै बजार अनुगमन शुरु हुन सकेको छैन् । यो समाचार उद्घोष दैनिकमा छापिएको छ । बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् ।

दशैँको मुखैमा पनि अनुगमन शुरु नभएपछि बजारमा उपभोक्ता दैनिक उपभोग्य बस्तु, लत्ता कपडा, जुत्ता चप्पल महँगोमा किन्न बाध्य छन् । बजारमा भइरहेको कालोबजारी रोक्ने तथा उपभोक्ताको हित रक्षा गर्ने जिम्मेवारी स्थानीय तहको रहेको छ । तर जनताको मत पाएका जनप्रतिनिधिले अहिलेपनि बजार अनुगमनमा पर्याप्त ध्यान नदिएको गुनासो सर्वसाधारणको छ । कानूनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको जिम्मेवारी दिएको छ । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले जनप्रतिनिधिहरुमा बजार अनुगमन गर्ने इच्छाशक्ति नदेखिएको बताए ।

धरान उपमहानगरपालिकाको १३ र १४ को सीमामा पर्ने धरान भेडेटार सडकखण्डको निशाने खोलामा जमिन भासिएपछि कोशी राजमार्ग धरापमा परेको समाचार ब्लाष्ट टाइम्समा छ । निशाने खोलामा आएको बाढीले कटान गर्दा जमिन भासिन थालेको हो । ३ दशक अघि बेलायत सरकारको सहयोगमा निर्माण भएको सो राजमार्ग दक्षिण एसियामै पहिलो श्रेणीको मानिन्छ । तर जमिन भासिएर सडक धरापमा परेपनि तीनै तहका सरकारले ध्यान दिएका छैनन् । यस्तै बराह क्षेत्र नगरपालिका ६ मा पर्ने श्रीलंका टप्पुको लियिा बस्ती समेत कोशी कटानको जोखिममा परेको छ ।

मोही पिउँदा १० जना अस्पताल भर्ना शिर्षकमा न्यू सृष्टि दैनिकमा खबर छ । उर्लाबारीका १० जना मोही पिएर बिरामी भएपछि नोवेल अस्पताल विराटनगरमा भर्ना भएका छन् । उर्लाबारी २ मंगलबारेमा मोही पिएर एकै परिवारका ७ र ३ जना छिमेकी गम्भिर बिरामी भएका हुन् । मोहि पिएर इन्दिरा गजमेर, उनका छोरा दिनेश, बुहारी अञ्जली, छोरा तारानाथ, बुहारी, कृतिका र जेठानी दुर्गा बिरामी भएका हुन् । यस्तै छिमेकी कमला राई, छोरा अशोक र बुहारी सीमा राई सिकिस्त बिरामी भएका हुन् । नोवेल अस्पतालका डाक्टर राजेश नेपालले उनीहरुलाई फूड पोइजन भएको बताए । इन्दिराको घरमा मोही बनाइएको थियो ।

नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै मोरङ प्रहरीले सुरक्षा योजना बनाउन थालेको छ । चाडवाडको बेला अपराधिक गतिविधि हुन नदिन प्रहरीले सुरक्षा योजनाको तयारी थालेको हो । प्रदेश १ को राजधानी र प्रदेशकै प्रमुख सहर भएकोले सुरक्षाको अवस्थामा बिषेश ध्यान दिईरहेको प्रहरीले जनाएको छ ।

Loading...