fbpx

तौल घटाउन सोच आएमा यी खाना त्यागेर हेर्नुस्

विराटनगर, १ असोज । हरेक दिन शरीरलाई स्वास्थ्य राख्न र तौललाई नियन्त्रण गर्नका लागि विभिन्न प्रकारका खानेकुरा खाने गर्छौं । तर, त्यही खानेकुरा पकाउन, खाना र त्यसको खाने मात्रामा गरिएको सानो गल्तीका कारण सोचे जस्तो फल पाउन सकिँदैन ।

कहिलेकाहीँ जानेर वा नजानी गरेको गल्ती तथा कुनै खानामा हुने पोषक तत्वहरुको राम्रो ज्ञान नभएको खण्डमा शरीरको तौललाई निकै असर भइरहेको हुन्छ । तौल बढाउनुका साथ साथै यस्तो खानाले स्वास्थ्यमा विभिन्न प्रकारको समस्याहरु पनि उत्पन्न गरिरहेको बारेमा हामीलाई थाहा पनि हुने गर्दैन । हामी जे खान्छौं, त्यही हुन्छौं । त्यसैले हरेक दिन खाने गरेको खानेकुराले स्वास्थ्यलाई नराम्रोसँग असर गर्ने गर्छ ।

मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिका अनुसार मोटोपनाले शरीरमा कोलेस्टेरोल, मधुमेह तथा मुटुको समस्या हुन सक्छ । त्यसैले शरीरको तौललाई भन्दा पनि शरीरको बोसो घटाउनलाई ध्यान दिनु पर्छ । आलु सबैलाई मन पर्ने तरकारी हो । आलुको स्वाद मीठो हुने भएको हुँदा र यसलाई सजिलैसँग सबै तरकारीहरुमा मिसाउन मिल्ने हुँदा यसलाई नेपालीको भान्सामा लोकप्रिय तरकारी मानिन्छ । आलुमा धेरै मात्रामा कार्बोहाइद्रेट हुन्छ । आलुमा बोसोको मात्रा न्यून हुने भए पनि यसले मानिसको तौललाई बढाउन मद्दत गर्छ । साथै आलुको सेवनले शरीरलाई अल्छी बनाउने गर्छ । यदि तौल घटाउने सोच छ भने खानामा आलुको सेवन कम गर्नु पर्छ ।

दिउँसो र रातिको तुलनामा बिहान धेरै प्रोटिनयुक्त खाने कुरा खानु पर्छ । दिउँसो र रातिको खानाको बीचको समयमा धेरै खाने गर्नु हुँदैन । प्राय दिउँसो खाजा खाने बानीले धेरैजसो जंक फुड, समोसा, चाउ चाउ, मोःमोः पिज्जा जस्ता मैदाले बनाएका खाजा खाने गर्छौं । यस्तो प्रकारको खाजाले मानव स्वास्थ्यलाई हानी पुर्याउनुका साथै शरीरको तौललाई बढाइरहेको हुन्छ । यस्ता प्याकेटका खानेकुरा तथा जंक फूडले पेटसम्बन्धी विभिन्न समस्या उत्पन्न गराउछ । विज्ञापनमा देखाए जस्तो धेरैजसो बजारमा पाइने स्वस्थ स्न्याक शरीरमा पोषिलो हुने बताइए वा देखाइए पनि यसमा विभिन्न केमिकल र फ्याटको मात्रा बेसी हुने गर्छ ।

यस्ता खानाहरुले तौल बढाउनु त स्वाभाविक नै हो साथै धेरै स्वास्थ्यसम्बन्धी रोग पनि निम्तिने हुन्छ । यस्ता खाजाको साटो उच्च प्रोटिन भएका खानेकुराको सेवन गर्नु पर्छ । जसले भोक मेटाउनुभन्दा पनि शरीरमा उर्जा पैदा गरेर शरीरलाई स्वास्थ्य राख्ने काम गर्छ । दूध स्वास्थ्यका लागि निकै फाइदाजनक पेय पदार्थ हो । तर, हामीले दैनिक खाने गरेको खानामध्ये खान नहुने पदार्थ हो, दूध । बच्चादेखि बृद्धले हरेक दिन दूध पिउने गर्छन् । नियमित दूधको सेवनले शरीरको हड्डी र दाँतलाई बलियो र स्वस्थ बनाउन मद्दत गर्छ । तर, यसको सेवनले शरीरको तौलमा धेरै असर गर्नुका साथै अनुहारमा डण्डीफोर तथा चिल्लोपन निम्त्याउने गर्छ ।

धेरै मानिसहरुलाई गुलियो खाने बानी हुन्छ । गुलियो खानु भनेको शरीरमा अनावश्यक तौल बढाउनु हो । गुलियो खाँदा शरीरमा तुरुन्तै उर्जा पाएको महसूस भए पनि उक्त उर्जा केही समयको लागि मात्र हुने र केही समयपछि शरीरलाई पहिलाको भन्दा धेरै थकित महसूस गराउने हुन्छ । यसले हाम्रो दाँतमा किरा लाग्ने सम्भावना बढाउछ । हप्ताको एक वा दुई दिन गुलियो खाने गरेमा यसले त्यति असर भने पार्दैन । गुलियो खाएपछि तुरुन्तै हामीले मुख कुल्ला गर्नुपर्छ ।

Loading...