fbpx

प्रदेश सरकारको ‘म अघि बढछु’ कार्यक्रमलाई नेपाली सेनाले सघाउने

विराटनगर १ असोज । प्रदेश १ सरकारको ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लबलाई नेपाली सेनाले पनि सहयोग गर्ने भएको छ ।

प्रदेश भरीका विद्यालयमा सगरमाथा टिन्स् क्लब गठन गरेर प्रदेश सरकारले संचालन गरिरहेको ‘म अघि बढ्छु’ कार्यक्रमलाई नेपाली सेनाले पनि सक्दो सहयोग गर्ने भएको हो ।  नेपाली सेनाले बुधबार विराटनगरमा आयोजना गरेको नागरिक अन्तर्रक्रिया कार्यक्रममा प्रदेश १ का पृतनापति अनन्त कार्कीले किशोर र यूवा उमेरलाई लक्षित गरेर प्रदेश सरकारले संचालन गरेको ‘म अघि बढ्छु’ कार्यक्रम समय सान्दर्भिक भएकोले नेपाली सेना पनि सहयोग गर्न तयार रहेको बताए ।

‘प्रदेश १ का १४ वटै जिल्लामा नेपाली सेनाको उपस्थिति रहेकोले म अघि बढ्छु कार्यक्रमलाई आवश्यक सहयोग गर्न नेपाली सेना सक्षम र ईच्छुक छ’, उपथरथी कार्कीले अन्र्तक्रियामा भने । उनले ‘म अघि बढछु’ कार्यक्रमलाई के कसरी सघाउने भन्ने बिषयमा प्रदेश सरकारको मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीसँग बसेर छलफल गर्ने बताए । प्रदेश १ सरकारले किशोर र यूवा उमेरमा नैतिकता सदाचार सिकाउदै र लागू औषध सेवन र अन्य कुलतबाट मुक्त गराउन कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराएर विद्यालयमा सगरमाथा टिन्स् क्लब गठन गराउदै ‘म अघि बढ्छु’ कार्यक्रम संचालन गरिहरहेको छ ।

नागरिकहरुसँग अन्र्तक्रियामा नेपाली सेनाको जनसम्पर्क महानिर्देशनालयका महासेनानी ईश्वरकुमार श्रेष्ठले सम्पत्ति सार्वजनिक गरेर नेपाली सेनाले परिवर्तनको सुरुवात गरिसकेकोले आगामी दिनमा सेना अझै नागरिकमैत्री बन्दै जाने बताए । उनले आचारण बिपरित कार्य गर्ने जो कोहीलाई सैनिक ऐन अनुसार कार्वाही गर्न सेना प्रतिबद्ध रहेको बताउँदै नागरिक मैत्री बनाउनका लागि सोझै गण, गुल्म र वाहिनीमा आएर वा संचारमाध्यमहरु मार्फत सुझाव दिन आग्रह पनि गरे ।

अन्र्तक्रियामा वारा र पर्सामा १७ चैत २०७५ मा आएको हुरीले भत्काएका ८ सय ६९ घर सरकारको लागत भन्दा एक लाख रुपैया कममा १ सय २० दिनमै निर्माण गरेर हस्तान्तरण गरेको र बचेको पैसा सरकारलाई फिर्ता दिनुले नेपाली सेनामा परिवर्तन आउन थालेको सहभागीहरुले बताए । साहित्यकार दधिराज सुबेदीले भने, — ‘यो राम्रो संकेत हो तर यतिले मात्रै पुग्दैन सेना अझै नागरिक माझ फराकिलो भएर आउनुपर्छ ।’

मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सोमराज थापा, मोरङ व्यपार संघका अध्यक्ष प्रकाश मुन्दडा, महासचिव अनिल शाह , समाजसेवी दुर्गा चापागाई लगायतले विपद् व्यवस्थापनमा अझै प्रभावकारी भूमिका खेल्नुपर्ने, स्थानीय तहसम्म युनिटहरु राख्नुपर्ने, सबै गुल्म र गणहरुमा प्राथमिक र सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्ने तथा अझै नागरिक र प्रविधिमैत्री बन्दै जानुपर्ने नेपाली सेनालाई सुझाव दिए ।

Loading...