fbpx

कांग्रेसको निरन्तर अवरोधले एक नम्बर प्रदेश सभाको बैठक चार दिनका लागि स्थगित

विराटनगर १ असोज । मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक फिर्ता गर्न माग गर्दै दोस्रो दिनपनि मुख्य प्रतिपक्षी दल कांग्रेसले बैठक अवरोध गरेपछि एक नम्बर प्रदेश सभा चार दिनकालागि स्थगित भएको छ ।

दर्ता भएर सैद्धान्तिक छलफलपछि बिषयत समितिमा गएर दफावार छलफल समेत गरि पारित भइसकेको मनमोहन विधेयक फिर्ता गर्न माग गर्दै ३१ भदौ जस्तै १ असोजको बैठकमा पनि उठेर भद्र अवाज्ञा गर्दै कांग्रेसले अवरोध गरेपछि प्रदेश सभाको बैठक ५ असोज सम्मका लागि स्थगित भएको हो ।

बैठक सुरु हुना साथ प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले पटक पटक स्थान ग्रहण गर्न आग्रह गरेका थिए । तर अवरोध निरन्तर जारी राखेपछि सभामुखले चार दिनकालागि बैठक स्थगित गराए । मंगलबार बसेको प्रदेश सभाको बजेट अधिवेशनको ५० औ बैठकको सुरुमै उभिएर भद्र अवज्ञा गर्दै मुख्य प्रतिपक्षी दल कांग्रेसले बैठक अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको थियो ।

मुख्य प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मनमोहन विधेयक फिर्ता नलिए संसदको अवरोध जारी राख्ने र सभाको रोष्टम घेर्ने बाध्य हुने चेतावनी दिएका छन् । तर नीति कार्यक्रममा राखेर बजेट समेत विनियोजन भइसकेकोले जसरी भएपनि प्रकृयामा लगेर मनमोहन विधेयक पारित गराउने योजना सरकारको छ ।

Loading...