fbpx

फेसबुकमा अब कति जनाले ‘लाइक’ गरेको भनेर गन्न नपाइने

विराटनगर, १ असोज । फेसबुक एक निजी रूपमा सञ्चालित सामाजिक सञ्जाल हो । अन्य धेरै सामाजिक सञ्जाल भए पनि अहिले विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म भने फेसबुक हो । फेसबुकमा प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् ।

साथै दैनिक करोडौँको संख्यामा प्रयोगकर्ताहरूले दैनिकी वा विविध विषय, भिडियो, फोटो तथा अन्य सामाग्रीहरू फेसबुक ‘वाल’ वा ‘टाइमलाइन’मा प्रयोगकर्ताले आफनो साथीहरूमाझ सेयर गर्न सकिन्छ । फेसबुकमा च्याट, लाइक, रियाक्ट गरी अन्य विभिन्न प्रकारका फिचरहरू हुने गर्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका विभिन्न फिचरहरूमध्ये ‘लाइक्स’ तथा रियाक्ट फिचर सबैभन्दा लोकप्रिय फिचर मानिन्छ ।

फेसबुक पोष्टहरूको लोकप्रियता मापन गर्नका लागि यो एउटा मुख्य मापदण्ड मान्ने गरिन्छ । सामान्य भाषामा आफूले गरेको फेसबुक पोष्टमा जति धेरै लाइक्स तथा रियाक्ट प्राप्त भयो उति नै धेरै उक्त पोष्ट अरुलाई मनपरेको तथा लोकप्रिय रहेको मानिने गरिन्छ । फेसबुकमा कसले कति वा कुन पोस्टमा कति लाइक आएको भन्दै हेर्ने चलन छ । त्यसकै आधारमा फेसबुक प्रयोगकर्ताले आफूले गरेको पोस्ट होस् या फोटो राम्रो वा नराम्रो हो भनेर छुटाउने गर्छन् ।

बढी लाइक्स आउनेलाई राम्रो, लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा आफू नराम्रो भएको सोच्दै डिलिट गर्ने प्रवृत्ति समेत रहेको छ । तर, अब भविष्यमा फेसबुकमा लाइक गन्न नपाइने भएको छ । फेसबुकले अब यो लाइक बटनलाई हटाउने भएको छ । फेसबुक स्वयंले यस कुराको पुष्टि गरिसकेको छ । लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ ।

फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिए पनि प्रयोगकर्ताहरूका लागि भने अहिले उक्त फिचर सुरु गरिसकिएको छैन । लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि प्रयोगकर्ताहरूमा सुरु गर्ने भन्ने कुराको बारेमा फेसबुकले जानकारी भने दिएको छैन । फेसबुकले यस्तै खालको फिचर इन्स्टाग्राममा परीक्षण गरिसकेको छ ।

परीक्षणको रूपमा प्रयोगकर्ताहरूले अब आफूले गरेको पोष्टहरूमा केहीमात्रै लाइक्स देख्न पाउने छन् वा फेसबुक पोष्टमा लाइक गर्नेहरूको सबै संख्या देखिने छैन । उक्त फिचर आएपछि फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुको पोस्टको लाइक्ससँग दाँज्न पाउँदैनन् । क–कसले आफ्नो पोस्टमा रियाक्ट गरेको भनेर हेर्न पाए पनि कति जनाले लाइक गरेका छन् भनेर भविष्यमा हेर्न नपाइने भएको छ ।

Loading...