fbpx

संविधान दिवस : प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा राखिने, शुक्रबार विषेश कार्यक्रम

विराटनगर, १ असोज । संविधान दिवसको अवसरमा प्रदेश १ विभिन्न २५ स्थानमा राष्ट्रिय झण्डा फहराइने भएको छ । प्रदेश सरकारले मुख्य बजारसहित १४ वटै जिल्लाको सदरमुकाममा राष्ट्रिय झण्डा फहराउने तयारी गरेको हो ।

संविधान दिवस मनाउन तीन दिने कार्यतालिका बनाएको प्रदेश सरकारले बिहीबार सरसफाइ तथा दीपावली कार्यक्रम गर्नेछ । संविधान दिवसको दिन शुक्रबार बिहान आदर्श स्कूलबाट प्रभातफेरि निकालिने छ । बिहान सात बजेबाट निस्कने प्रभातफेरि बजार परिक्रमा गरी शहीद रंगशालामा कार्यक्रममा परिणात हुनेछ ।

शहीद रंगशालामा झाँकी प्रदर्शन गरिनेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मार्च पास पनि गर्नेछन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाका अनुसार बिहीबार नै सरकारी कार्यालय तथा सार्वजनिक स्थान सरसफाइ र साँझ दीपावली गरिने छ ।

शुक्रबार विद्यालय र विभिन्न क्षेत्रबाट सांस्कृतिक झाकी पनि प्रदर्शन गरिनेछ । प्रदर्शनको मुल्याङकनका लागि छुट्टै समिति बनाइएको छ । समितिले सिफारिस गरेको आधारमा प्रथम समूहलाई नगद तीस हजार, द्वितीयलाई २० र तृतीयलाई १० हजार र दुईवटा समूहलाई पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ । शुक्रबार दिउँसो ब्याकुल माइला, धावक मिरा राई पर्वतारोही कामिरिता शेर्पालाई सम्मान गरिनेछ ।

शनिबार पनि सरसफाइ गर्ने र दीप प्रज्वलन गरिने छ । प्रदेश १ का सबै स्थानीय तहहरूले गाउँस्तरमा दीप प्रज्वलनसहितका कार्यक्रमहरू गर्नेछन् ।

Loading...