fbpx

युभेन्टससँग खेल्नुअघि एथ्लेटिकोका प्रशिक्षकले भने, ‘रोनाल्डोको सामना गर्न मुस्किल छ’

एजेन्सी, १ असोज । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई रोक्न मुस्किल हुने बताएका छन् । युभेन्टसविरुद्धको खेलको पूर्वसन्ध्यामा बोल्दै उनले जस्तै योजना बनाउँदा पनि रोनाल्डोको सामना गर्न मुस्किल रहेको बताएका हुन् ।

च्याम्पियन्स लिगमा आज युभेन्टस र एथ्लेटिको मड्रिडको ‘महाभिडन्त’ हुँदैछ । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट हुनेछ । युभेन्टस र एथ्लेटिको च्याम्पियन्स लिगका दाबेदार टोलीहरू हुन् । युभेन्टस सन् २०१८–१९ को इटालियन सिरी ‘ए’ विजेता टोली हो भने एथ्लेटिको मड्रिड ला लिगाको उपविजेता टोली हो ।

goasl

आज यस खेलमा पोर्चुगिज खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र युवा स्टार जाओ फेलिक्स मुख्य आकर्षणमा रहनेछन् । यसै सिजन बेन्फिकाबाट एथ्लेटिको आएका फेलिक्सले सुरुआती खेलहरूमा नै आफ्नो प्रदर्शनले सबैलाई छक्क पारिसकेका छन् । यता, अघिल्लो सिजन मात्र रियल मड्रिडबाट युभेन्टस आएका रोनाल्डो पनि आजको मुख्य आकर्षणको केन्द्रमा रहनेछन् ।

उनै रोनाल्डोको विषयमा बोल्दै सिमोनले यस्तो बताएका हुन् । सिमोनले रोनाल्डो ‘गोल एनिमल’ भएको बताउँदै आफूहरूलाई रोनाल्डोविरुद्ध तयार हुन गाह्रो भइरहेको बताए । उनले खेलअगाडि पत्रकारसँगको कुराकानीमा भने, ‘क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीको सामना गर्नका लागि आफूहरूलाई तयारी हुन पनि गाह्रो भइरहेको छ । उनी ‘गोल एनिमल’ हुन् । उनीसँग निकै राम्रो शरीर छ र मैदान प्रवेश गरेपछि उनले सबैलाई ठीक पार्छन् ।’

‘उनलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ’, उनले थपे, ‘उनीसँग धेरै क्षमता छ, उनको हेडिङ पनि उत्कृष्ट छ र उनको प्रहार, पास र कुदाइ पनि निकै राम्रो छ । उनको क्षमताको बारेमा प्रशंसा गर्ने कुनै शब्द नै छैन । उनीविरुद्ध हामीले यसअघि नै खेलिसकेका छौं, कहिले हामीले जितेका छौं कहिले हारेका छौं । यो स्पष्ट छ कि उनी ‘गोल एनिमल’ हुन् ।’

रोनाल्डोले एथ्लेटिकोविरुद्ध कूल ३३ वटा खेल खेल्दा २५ खेलमा जित निकालिसकेका छन् । उनले एथ्लेटिकोविरुद्ध च्याम्पियन्स लिगमा मात्र ८ खेल खेल्दा ७ गोल गरेका छन् । यस्तै ला लिगाअन्तर्गत १६ खेल खेल्दा १२ गोल तथा कोपा डेल रेमा ७ खेलबाट ६ गोल गरेका छन् ।

अघिल्लो च्याम्पियन्स लिगमा पनि एथ्लेटिकोलाई युभेन्टसले हराउँदा रोनाल्डोले ह्याट्रिक गरेका थिए । अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा एथ्लेटिकोले जित निकाले पनि दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दै एथ्लेटिकोलाई च्याम्पियन्स लिगबाट आउट गरिदिएका थिए ।

Loading...