fbpx

मेस्सीले तयारीबिना पनि राम्रो खेले : भाल्भेर्डे

एजेन्सी, १ असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सी च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया डर्टमुण्डविरुद्धको खेलबाट मैदान फिरे । अगस्ट ५ तारिखमा घाइते भइ मैदानबाहिर रहेका उनी मंगलबार रातिको खेलबाट मैदान फिरेका हुन् ।

मंगलरबार राति भएको समूह चरणको खेलमा बार्सिलोना र डर्टमुण्डले गोलरहित बराबरी खेलेका थिए । उक्त खेलको ५९औं मिनेटमा मेस्सी युवा खेलाडी अन्सु फातीको सट्टामा मैदान प्रवेश गरेका थिए । उनी प्रवेश गरेपछि पनि टोलीले गोल गर्न सकेन र गोलरहित बराबरीमै सो खेल सकियो । तर, बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले भने मेस्सीले तयारीबिना पनि राम्रो खेलेको बताएका छन् ।

उनले खेलपछि पत्रकार सम्मेलनका क्रममा बोल्दै भनेका छन्, ‘उनले अरु खेलाडीजस्तै खेले, जसले प्रि–सिजनमा खेलेका थिए । उनले तयारीबिना पनि अविश्वसनीय प्रदर्शन गरे । उनीसँग जम्मा ३० मिनेट मात्र बाँकी थियो र जहाँ उनले पर्याप्त गरे ।

उक्त खेलमा बार्सिलोनाका गोलरक्षक मार्क–एन्ड्रे टर स्टगेनले राम्रो प्रदर्शन गरेका थिए । उनले डर्टमुण्डका खेलाडीले प्रहार गरेको पेनाल्टी रोकेका थिए । डर्टमुण्डको घरेलु मैदानमा भएको उक्त प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले खेलको ५७औं मिनेटमा पेनाल्टी पाएको थियो ।

सो पेनाल्टी तडर्टमुण्डका मार्को रेउस प्रहार गरेका थिए । तर, स्टगेनले पेनाल्टी रोकेका कारण सो खेल बराबरीमा टुंगियो । यस बराबरीसँगै समूह ‘एफ’का टोली बार्सिलोना र डर्टमुण्डले समान १–१ अंक बनाएका छन् ।

Loading...