fbpx

दर्जन बढी कलाकार रहेको ‘लक्का जवान’मा सवीन श्रेष्ठको इन्ट्री

विराटनगर, १ असोज । हाँस्यकलाकार शिवहरि पौडेलको निर्देशनमा तयार हुँदै गरेको फिल्म ‘लक्का जवान’को धमाधम छायाङ्कन भइरहेको छ । छायाङ्कनको क्रममा फिल्ममा नयाँ नायकको प्रवेश भएको छ । छायाङ्कन सुरु भएको केही हप्तापछि अभिनेता सवीन श्रेष्ठ, फिल्मको उनी सेटमा पुगेका छन् । सवीनले आफ्नो आधिकारिक फेसबुकमा क्ल्याप र फिल्म युनिटसँगको फोटो राख्दै आफू लक्का जवानमा अनुबन्धित भएको खुलासा गरेका हुन् ।

दर्जन बढी कलाकारहरू रहेको फिल्ममा सवीनको भूमिका भने गोप्य नै राखिएको छ । फिल्मको कथा र कलाकारहरूको भूमिकालाई गोप्य राखिएपनि केही समयअगाडी अभिनेत्री वर्षा शिवाकोटीको लुक बाहिरिएको थियो । उनले फिल्ममा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दै छिन् । फेसबुक स्टोरीमा इन्स्पेक्टरको पोशाकमा रहेको एक तस्बिर सेयर गरेकी वर्षाको जोडी दिलीप हुन् वा सलोन भन्नेमा अहिलेसम्म निर्माण टिमले सार्वजनिक गरेको छैन ।

चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’ निर्देशन गरेर चर्चा कमाएका शिवहरिकै लेखनमा तयार हुने फिल्ममा उनलाई किरण केसी र दिलिप रायमाझीले निर्माणमा साथ दिएका छन् । फिल्ममा शिव, किरण र दिलिपका साथ प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

लामो समय टेलिसिरियल निर्माणमा लागेका शिवहरिले आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा रहेर निर्माण हुने फिल्ममा पारिवारिक तथा कमेडी कथावस्तुलाई उठाउने र रियालिटी बेसमा कमेडी फिल्म बनाउने प्रयास गरेका छन् । बाबुल गिरीले संगीत भर्ने फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने छ भने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने भएका छन् ।

चलचित्रको छायांकन ७० प्रतिशत काभ्रे र ३० प्रतिशत काठमाण्डौमा हुने पक्का भएको छ । निर्माण टिमले फिल्मलाई चैत्रको ७ गतेबाट रिलिज गर्ने टार्गेट राखेको छ ।

Loading...