fbpx

स्वाद र सुगन्धका लागि मात्र नभएर तेजपत्ताका छन् अनेक औषधीय गुणहरू

विराटनगर, १ असोज । मानिसहरूले प्रायः तेज पत्तालाई भान्साघरमा खानाको स्वाद र सुगन्द बढाउनको लागि प्रयोग गर्दछन् । यसले खानेकुराको वास्ना परिवर्तन गर्नेगर्छ । तेजपत्ताले खानामा स्वाद बढाउने मात्र नभइ स्वास्थ्यका निम्ति अनेक फाइदाहरू पुर्याउने गर्छ ।

तेजपत्तामा भिटामिन ‘ए’ र ‘सी’का साथै फोलिक एसिडलगायतका शरीरलाई चाहिने अन्य खनिजहरू भरपूर मात्रामा रहेको हुन्छ । तेजपत्ताले पाचन प्रक्रियालाई सुधारेर पेटका विभिन्न समस्याहरूलाई हटाउन, हृदयको सुरक्षा गर्न तथा तनावबाट मुक्त हुन मद्दत गर्दछ ।

मधुमेहका बिरामीका लागि पनि तेजपत्ता एकदम राम्रो औषधि हुने गर्छ । यसले शरीरमा उत्पन्न हुने इन्सुलिनको क्रियाकलापमा सुधार गर्छ । सन् २०१६ को जर्नल अफ बायोकेमिकल्स न्यूट्रिशनमा प्रकाशित एक अध्ययनका अनुसार, टाइप–२ मधुमेहका बिरामीहरूका लागि तेजपत्ताले निकै फाइदा गरेको पाइएको थियो । तेजपत्ताको प्रयोगले रगतमा भएको ग्लुकोजको मात्रालाई कम गराउनुका साथै खराव कोलेस्ट्रोलको मात्रामा सुधार ल्याउने गर्छ । यति मात्रा नभएर तेजपत्तालाई छाला तथा कपालको सौन्दर्य बढाउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

तेजपत्ता राखेर उमालेको पानीले टाउको नुहाएमा टाउकोमा जुम्राको समस्यालाई हटाएर कपाल लामो र चम्किलो बनाउने गर्छ । टाउको दुखेको बेला तेजपत्तालाई पिसेर पेस्ट बनाएर टाउकोमा लगाउँदा दुखाइ कम हुन्छ । तेजपत्ता उमालेको पानीको बाफ लिने गरेमा छाला चम्किलो हुनुका साथै उक्त पानीले मुख धुने गर्दा अनुहारलाई सफा बनाएर दाग हटाउन मद्दत गर्छ ।

तेजपत्ताको पानीले छालालाई घामको किरणबाट बचाउने गर्छ । यसको पेस्ट बनाएर अनुहारमा नियमित लगाउने गर्दा चाडै बुढ्यौलीका लक्ष्यणहरू देखा पर्दैनन् । हरेक तीन दिनमा तेजपत्ताको धुलोले दाँत माँझ्ने गरेमा दाँत सेतो र चम्किलो हुँदै जान्छ । निन्द्रा नलाग्ने समस्याले सताउने गरेमा सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउने गर्दा राम्रो निन्द्रा लाग्ने गर्छ ।

रुघाखोकी तथा अन्य प्रकारका इन्फेक्सनबाट तेजपत्ताको प्रयोगले छुटकारा दिलाउने गर्छ । गर्मी तथा अन्य रोगहरूका कारण नाकबाट रगत आउने समस्यालाई तेजपत्ताले हटाउने गर्छ । तेजपत्तालाई पानीमा उमालेर चिसो बनाएर पिउने गर्दा नाकबाट रगत आउने समस्याको समाधान हुने गर्छ ।

Loading...