fbpx

च्याम्पियन्स लिग : रियल मड्रिड र पीएसजीको ‘महाभिडन्त’ हुँदै, बदला लिने दाउमा पीएसजी

एजेन्सी, १ असोज । युरोपियन च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा गर्दैछन् । समूह चरणअन्तर्गतको उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

पीएसजीको घरेलु मैदानमा हुने उक्त खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । पीएसजी फ्रेन्च लिग वानको च्याम्पियन क्लब हो भने रियल ला लिगाको सफल टोलीमध्ये एक हो । रियल र पीएसजीले २ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगमा भेट गरेका छन् ।

२०१७–१८ को सिजनमा रियलले पीएसजीलाई च्याम्पियन्स लिगबाट घर पठाएको थियो । अन्तिम १६ अन्तर्गतको उक्त खेलको दुवै लेगमा रियलले जित निकालेको थियो । सो सिजन रियलले च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो । र, आजको खेलमा पीएसजी यसैको बदला लिने दाउमा पनि छ ।

आजको खेलमा रियलका भरपर्दा खेलाडीहरू मार्सेलो, इस्को, लुका मोड्रिक, भाल्भेर्डे र एसेन्सियोले गुमाउनेछन् । उनीहरूले चाटका कारण खेलमा गुमाउने पक्का छ । यस्तै कप्तान सर्जियो रामोस र नाचोले भने प्रतिबन्धका कारण खेल गुमाउनेछन् । तर, रियलका नयाँ स्टार इडेन हाजार्ड, करिम बेन्जेमा, ग्यारेथ बेल, जेम्स रोड्रिग्वेज, क्यासेमिरो, फर्लान मेन्डी, कार्भजल जस्ता खेलाडीलाई रियलका प्रशिक्षक जिनेदिन जिदानले प्रारम्भिक टोलीमा राखेका छन् ।

यता, पीएसजीका लागि भने नेयमार, इडिन्सन काभानी, किलियन एम्बाप्पेले उक्त खेल गुमाउनेछन् । काभानी र एम्बाप्पेले भने चोटका कारण खेल गुमाउने छन् भने नेयमार प्रतिबन्धमा परेका छन् । उनीलाई युईएफएले ३ खेलमा प्रतिबन्ध लगाएपनि हालै उनको प्रतिबन्ध घटुवा भइ २ खेलमा झरेको छ ।

पीएसजीका लागि भने आज रियलका पूर्वगोलकिपर केयलर नाभासले खेल्नेछन् । उनी यसै सिजन रियल छोडेर पीएसजी गएका हुन् । उनका साथै थियागो सिल्भा, किम्पेम्बे, डी मारिया, इकार्डी, भेराट्टी जस्ता खेलाडीले सुरुआती ११ मा स्थान बनाउने सम्भावना छ ।

रियल र पीएसजीबाहेक आज अन्य ७ खेल पनि हुँदैछन् । आजको पहिलो खेलमा क्लब बर्ग र गालातासरे भिड्नेछन् भने दोस्रोमा टोटनह्याम हटस्पर र ओलम्पियाकसले खेल्नेछन् । यस्तै तेस्रोमा बायर ०४ लिभरकुसेनले र लोकोमाटिभविरुद्ध खेल्दा चौथोमा पीएसजी र रियलले खेल्नेछन् । पाँचौं खेलमा जर्मन क्लब बायर्न म्युनिखले क्रेभेना जभेदासँग खेल्दा छैटौंमा एथ्लेटिको मड्रिड र युभेन्टसले खेल्नेछन् ।

सातौंमा म्यानचेष्टर सिटी र शक्तर डोनेस्कले खेल्नेछन् । आजको अन्तिम खेलमा डाइनामो जाग्रेब र अटलान्टाले खेल्नेछन् ।

Loading...