fbpx

च्याम्पियन्स लिग : युभेन्टससँग बदला लिने दाउमा एथ्लेटिको मड्रिड

विराटनगर, १ असोज । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब एथ्लेटिको मड्रिडको ‘महाभिडन्त’ हुँदैछ । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट हुनेछ ।

समूह चरणको पहिलो खेलमा मै यी दुई टोलीले भिडन्त गर्न लागेका हुन् । युभेन्टस र एथ्लेटिको समूह ‘डी’का टोली हुन् । यस समूहमा जर्मन क्लब बायर ०४ लिभरकुसेन र रसियन क्लब एफसी लोकोमोटिभ पनि रहेका छन् । यी दुई क्लबले पनि आजै अर्को खेल खेल्दैछन् ।

युभेन्टस र एथ्लेटिको च्याम्पियन्स लिगका दाबेदार टोलीहरू हुन् । युभेन्टस सन् २०१८–१९ को इटालियन सिरी ‘ए’ विजेता टोली हो भने एथ्लेटिको मड्रिड ला लिगाको उपविजेता टोली हो । आज हुने यी दुईबीचको खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आज यस खेलमा पोर्चुगिज खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र युवा स्टार जाओ फेलिक्स मुख्य आकर्षणमा रहनेछन् ।

यसै सिजन बेन्फिकाबाट एथ्लेटिको आएका फेलिक्सले सुरुआती खेलहरूमा नै आफ्नो प्रदर्शनले सबैलाई छक्क पारिसकेका छन् । यता, अघिल्लो सिजन मात्र रियल मड्रिडबाट युभेन्टस आएका रोनाल्डो पनि आजको मुख्य आकर्षणको केन्द्रमा रहनेछन् ।

आजको यस खेलमा एथ्लेटिकोलाई युभेन्टससँग बदला लिने अवसर छ । उसले अघिल्लो सिजनको च्याम्पियन्स लिगमा युभेन्टससँग हार ब्यहोरेको थियो । अन्तिम १६ अन्तर्गतको उक्त खेलको पहिलो लेगमा अग्रता बनाएको एथ्लेटिकोले दोस्रो लेगमा हार ब्यहोरेको हो । युभेन्टसले उसलाई आफ्नै मैदानमा हराएपछि ऊ च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । सोही हारको बदला लिने दाउमा एथ्लेटिको रहेको छ ।

एथ्लेटिकोविरुद्धको खेलका लागि युभेन्टसले आफ्ना नयाँ खेलाडीहरूलाई टोलीमा राखेको छ । प्रशिक्षक मौरिजियो सार्रीले रोनाल्डोका साथै बुफन, डेनिलो, राबिओट, हिगुइन, राम्से, डी लिग्टका साथै डेबाला, बर्नान्डेस्ची, पिजानिक, इम्रे क्यान, माटुइडी जस्ता स्टार खेलाडीहरूलाई टोलीमा राअ‍ेका छन् ।

यता, एथ्लेटिकोले युभेन्टसविरुद्ध फेलिक्सका साथै डिएगो कोस्टा, थोमस, कोके, साउल, लेमार, हेरेर्रा, भिटोलो, फेलिप, कोर्रेया जस्ता खेलाडीलाई टोलीमा राखेको छ ।

युभेन्टस र एथ्लेटिकोबाहेक आज अन्य ७ खेल पनि हुँदैछन् । आजको पहिलो खेलमा क्लब बर्ग र टर्किस क्लब गालातासरेले खल्दैछन् भने दोस्रो खेलमा टोटनह्याम र ओलम्पियाकसले खेल्नेछन् । यस्तै तेस्रो खेलमा बायर र लोकोमाटिभ तथा चौथोमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडले खेल्नेछन् ।

पाँचौं खेलमा जर्मन क्लब बायर्न म्युनिखले क्रेभेना जभेदासँग खेल्नेछ भने छैटौंमा एथ्लेटिको मड्रिड र युभेन्टस तथा सातौंमा म्यानचेष्टर सिटी र शक्तर डोनेस्कले खेल्नेछन् । आजको अन्तिम खेलमा डाइनामो जाग्रेब र अटलान्टाले खेल्नेछन् ।

Loading...