fbpx

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

खोटाङ १ असोज । कृषकले खेती गर्न छाडेपछि यस वर्ष खोटाङमा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी २५ देखि ३० रुपैयाँमा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी २०० देखि २२० रुपैयाँ सम्ममा खरीद तथा बिक्री भइरहेको छ ।

खोटाङको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ ।

पछिल्ला दुई वर्षयता हाटबजारमा अदुवा नपाएपछि पितृकार्यमा प्रयोग गर्नसमेत समस्या भएको स्थानीयले बताए । किराँत, राई र मगर समुदायले पितृकार्यमा अदुवा प्रयोग गर्ने गरेका छन् । आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि विगत दुई वर्षदेखि खेती नै गर्न छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका अगुवा कृषक धर्मराज राईले बताए । यसअघि उद्योग वाणिज्य सङ्घले खरीद गर्ने भनेर सबै खेती छाडेर अदुवाखेती गरेको भएपनि सङ्घले खरीद नगरेपछि कुहिएर नष्ट हुँदा अहिले खेती नै गर्न छोडेको उनले बताए ।

कृषकका अनुसार दुई वर्षअघि उद्योग वाणिज्य सङ्घले खरीद नगर्दा एक कृषकको कम्तीमा पनि चार/पाँच क्विन्टल अदुवा कुहिएर खेर गएको थियो । अदुवा उत्पादक कृषकलाई समेटेर व्यवसायी सङ्घ गठन गरेपछि उत्साहित कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका थिए । जिल्लामै प्रशोधन केन्द्र खोल्ने हल्ला सुनेपछि बिगतभन्दा बढाएर खेती गरेका कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका हुन् ।

यसअघि आफूले उत्पादन गरेको अदुवा १० रुपैयाँ किलोमा पनि बिक्री नभएपछि खाडल खनेर पुरेको दिक्तेल–२ सोल्माका कृषक गङ्गाबहादुर विश्वकर्माले बताए । खोटाङ अदुवा उत्पादनका लागि उपयुक्त भूगोल रहे पनि बिक्री नभएपछि कृषकले खेती गर्न छाडेका कृषि ज्ञान केन्द्रका प्रमुख दिनेशप्रसाद यादवले बताए ।

Loading...