fbpx

पत्रपत्रिकामा देश : आकाशमा पनि नेताको अत्याचार

विराटनगर १ असोज । नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएर छापेको खबरमा जनताबाट चुनिएका ठुला नेताले सडकमात्रै हैन्,आकाशसमेत खाली गराएर जनतालाई वेलावेलामा सास्ती दिदै आएको उल्लेख गरेको छ ।

राजतन्त्रमा जस्तै गणतन्त्रमा पनि भिआइपी संस्कार खोज्दै नेताहरुले सडक र आकाश नै कब्जा गर्दै सवारी गर्ने गरेका छन् । समाचारमा सबैभन्दा बढी जहाज रोकाउने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक अन्तर्राष्ट्रिय भ्रमणमा उडान अवतरण प्रभावित हुने गरेको छ । आकाशमै अन्तर्राष्ट्रिय कम्पनीका जहाजहरुलाई समेत होल्ड गराउने गरिएको हो । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले भिआइपीलाई पर्खिनै पर्ने नियम नभएको बताए । कहिलेकाँही ट्राभल एजेन्सीले समेत जहाज डिले गराउने गरेका छन् । समूहमा टिकट काटेकाहरु आउन ढिला भन्दै डिले गराउने गरेका छन् ।

अन्नपूर्ण पोष्टमा नेतृत्व गर्ने मन्त्री, सहभागी उपप्रधानमन्त्री शिर्षकमा मुख्यपृष्ठमा समाचार छ । उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्दै जान लागेको सो महासभामा उपप्रधानमन्त्री उपेन्द्र यादवपनि सहभागी हुँदै छन् । उपप्रधानमन्त्री बरियतामा परराष्ट्रमन्त्री भन्दा माथि छन् । तर मन्त्री ज्ञवालीले नेतृत्व गर्ने महासभाको एक स्वास्थ्यसम्बन्धि कार्यक्रममा छलफलमा उपप्रधानमन्त्री यादव सहभागी हुने छन् ।

नयाँ पत्रिका दैनिकमा गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक आफ्नो सपनाको रुपमा अथ्र्याउदै आएको पानी जहाजको कार्यालय तमाझामका साथ उद्घाटन गरेका भएपनि एक महिनादेखि नेतृत्व विहिन बनेको समाचार छ । नयाँ नेतृत्व नियुक्ति गर्नुको सट्टा भएका इन्जिनियरको पनि सरुवा गरिएको छ । पानीजहाजको कार्यालय हाँक्न ३ जना इन्जिनियर नियुक्त गरिएका थिए । प्रमुखका रुपमा नियुक्त मेकानिकल इन्जिनियर ऋषिराज कोइरालाको ३२ साउनमा अनिवार्य अवकास भएपछि सो कार्यालय नेतृत्वविहिन बनेको हो । शाखा अधिकृत तहका इन्जिनियर संदीपा राईको पनि उर्जा मन्त्रालयमा सरुवा भएको छ । हाल द्वितिय श्रेणीका इन्जिनियर विपिन राजभण्डारीले कार्यालय हाँकिरहेका छन् ।

मौसममा खराबी आएपछि धान खेतमा ९ वटा हेलिकप्टर अवतरण गरिएको छ । मंगलबार अविरल वर्षाका कारण मौसम प्रतिकुल भएपछि ९ हेलिकप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण गरिएको हो । लुक्ला लगायतका क्षेत्रबाट उडेका ११ हेलिकप्टरमध्ये ९ वटा काभ्रे र सिन्धुलीका धानखेतमा अवतरण गरिएको छ । हेलिकप्टरमा रहेका सबै यात्रु सकुशल छन् । मनसुनी झरि बिहीबारबाटमात्रै हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीले बिहीबार बेलुकादेखि वर्षा कम हुने बताइन् ।

Loading...