fbpx

पानी पिउने सिसाको गिलास स्वास्थ्यका लागि हानिकारक !

विराटनगर, १ असोज । हिजोआज बजारमा विभिन्न रंग तथा बुट्टा भरिएको पानी पिउने सिसाका गिलासहरू पाइन्छ । धेरैजसो मानिसहरूले सुन्दर हुनाले तथा पाहुना आउँदा राम्रो देखिने सोचका कारणले यस्ता सिसाका गिलासहरू किनेर प्रयोग गर्ने गर्छन् । तर, यस्ता रंगीविरंगी बुट्टा भरिएका सिसाका गिलासले स्वास्थ्यमा नकारात्मक असर गर्ने गर्छ । लिड र क्याडमियम दुवै मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

सिसाको गिलास बनाउनका लागि प्रयोग हुने लिड र क्याडमियमको स्तर र मात्राले स्वास्थ्य लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले पत्ता लगाएको छ । युनिभर्सिटी अफ प्लाइमाउथका अनुसन्धानकर्ताले पानी खाने बुट्टा बनाइका गिलासको बारेमा गरेको अध्ययनमा परीक्षण गरिएका सबै प्रकारका गिलास १०० प्रतिशतमध्ये ७० प्रतिशत गिलासमा लिड र क्याडमियम स्वास्थ्यका लागि हानिकारक हुने मात्रामा पाइयो ।

गिलासमा बनाइएका बुट्टाका सबै रंगमा र बुट्टामा धेरै मात्रामा लिड पाइयो र धेरै जसो रातो बुट्टामा भने क्याडमियमको धेरै मात्रा भेटिएको छ । अध्यय समूहका नेता एन्ड्र्यू टर्नरले पानी तथा अन्य पेय पदार्थको सेवनका लागि प्रयोग गरिने रंगीन बुट्टेदार सिसाका गिलासको बुट्टा र रंगमा पाइएका दुवै तत्वले मानव स्वास्थ्यसँगै वातावरणका लागिसमेत हानिकारक रहेको बताएका छन् । सिसाका गिलासको मुख वरिपरि र बाहिरका बुट्टामा लिड र क्याडमियमको यति उच्च मात्रा पाउँदा आफू आश्चर्यजनक भएको समेत बताए ।

क्याडमियमका कारण हाडको कडापन हराइ नरम हुने तथा मिर्गौलामा विभिन्न जटिल समस्या आउने गर्छ । क्याडमियमले क्यान्सर हुने सम्भावना हुन्छ । गिलासमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्तरभन्दा लिडको मात्रा १ हजार गुणा बढी भएको टर्नरको अध्ययन समूहले पत्ता लगाएका हुन् । लामो समयसम्म बुट्टा भएको गिलासको प्रयोग गर्दा रंगका टुक्रा उप्कने हुँदा यस्ता हानिकारक पदार्थ पानीमा झरेर पानीसंगै खाइने सम्भावना हुँदा गिलासको लामो समय प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुन्छ ।

विभिन्न अध्ययनले बालबालिकाको शरीरमा लिड प्रवेश गरेमा यसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा विभिन्न समस्या निम्त्याउने गरेको पाइएको छ । क्याडमियमको साटो प्रयोग गर्न सकिने सुरक्षित वैकल्पिक तत्वहरू बजारमा पर्याप्त उपलब्ध भएकाले यस्तो खतरनाक तत्वको उपयोग गिलास सजाउन गरिनु आश्चर्यजनक र चिन्ताजनक रहेको टर्नरले बताए ।

साइन्स अफ द टोटल इनभाइरनमेन्टको अनलाइन जर्नलमा उपभोक्ताहरूलाई यसबारे सजग गराउनु पर्छ भन्दै यस्ता प्रतिबन्धित र स्वास्थ्यका लागि हानिकारक तत्वहरू सजावटका लागि हानिकारक तत्वलाई सामानबाट हटाउनु पर्छ भनेर प्रकाशित गरिएको छ ।

Loading...