fbpx

च्याम्पियन्स लिग : पेनाल्टी मिस भएपछि डर्टमुण्डले बार्सिलोनासँग बराबरी खेल्यो

विराटनगर, १ असोज । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमुण्ड बराबरीमा रोकिएका छन् । बुधबार भएको समूह चरणको खेलमा बार्सिलोना र डर्टमुण्डले गोलरहित बराबरी खेलेका हुन् ।

डर्टमुण्डको घरेलु मैदानमा भएको उक्त प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले पेनाल्टी मिस गरेपछि खेल बराबरीमा रोकिएको हो । खेलको ५७औं मिनेटमा डर्टमुण्डले पेनाल्टी पाएको थियो । तर, डर्टमुण्डका मार्को रेउसले उक्त पेनाल्टीको मौका खेर फाले ।

aa

 

गए रातिको खेलबाट बार्सिलोनाका स्टार लियोनल मेस्सी मैदान फर्किएका थिए । मेस्सी केही समयअघिबाट नै घाइते अवस्थामा थिए । तर, यो खेलबाट उनी पूर्णरूपमा निको भइ मैदान फर्किएका हुन् । टोलीमा नेल्सन सेमेडो, जरार्ड पीके, इभान राकिटिक, लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान र अन्सु फाती जस्ता खेलाडी समावेश हुँदा पनि ऊ डर्टमुण्डसँग बराबरीमा रोकियो ।

यस बराबरीसँगै समूह ‘एफ’का टोली बार्सिलोना र डर्टमुण्डले समान १–१ अंक बनाएका छन् । यता, सोही समूहका इन्टर मिलान र स्लाभियाले पनि बराबरी अंक बाँडेका छन् । स्लाभिया प्रहा र इन्टरले पनि हिजो राति नै अर्को खेलेका थिए । इन्टर मिलानको घरेलु मैदानमा भएको उक्त खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेले ।

अब समूह ‘एफ’को शीर्ष स्थानमा स्लाभिया प्रहा छ भने दोस्रोमा इन्टर मिलान, तेस्रोमा बार्सिलोना र चौथोमा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुण्ड छ । यी सबै टोलीसँग समान १–१ अंक छ ।

Loading...