fbpx

१ वटा अमला खाँदा ३ वटा सुन्तलाको शक्ति

विराटनगर, ३१ भदौ । अमला भिटामिन ‘सी’ को राम्रो स्रोत भएकै कारण यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्त्व हुन्छन् । आयुर्वेदमा दैनिक १ वटा अमला खाएको बराबर ३ वटा सुन्तलामा भन्दा धेरै भिटामिन हुने उल्लेख गरिएको छ ।

अमलालाई सुख्खा चूर्ण, औषधि, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ । अमलाको नियमित सेवनले आँखाको ज्योति बढाउनुका साथै, तेजिलो दिमाग र कपाल तथा छालाका विभिन्न समस्याबाट टाढा राख्न मद्दत गर्छ । अमलामा विभिन्न रोगहरू निको पर्ने क्षमता हुन्छ । प्रत्येक दिन एउटा अमला खानाले पेट सफा राख्न मद्दत गरेर पाचन प्रक्रियालाई सक्रीय पारेर कब्जियत हुन दिँदैन, झाडापखाला रोक्नुका साथै ग्यास्ट्रिकलाई पनि केही हदसम्म कन्ट्रोल गर्नुका साथै पेटमा देखा पर्ने अन्य समस्याहरूबाट मुक्ति मिल्छ ।

दैनिक एउटा अमलाको सेवन गर्नाले फोक्सोसँग सम्बन्धित रोगहरू लाग्न दिँदैन । अमलामा पानीको मात्रा बढी हुने भएकाले पिसाबसम्बन्धी समस्यालाई निवारण गर्छ । अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्ने हुँदा अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत भएर युरिक एसिड र किड्नीसँग सम्बन्धित रोगहरू लाग्न दिँदैन । दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगाउनुका साथै आँखाको ज्योतिलाई अझ बढी शक्तिशाली बनाउँछ ।

अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाले युवाहरूमा यौवन शक्ति प्रदान गर्नुका साथै बृद्धहरूमा युवाअवस्थामा जस्तै जोश जाँगर प्रदान गर्छ । अमलाले शरीरको छाला र कपालको लागि फाइदाजनक हुन्छ । अमलाको दैनिक सेवनले छाला लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगाएर कालो र चम्किलो बनाउँछ ।

यसले हाम्रो छाला चम्किलो बनाउनु का साथै हाम्रो अनुहारमा भएको कलोपना र दाग हटाउने काम गर्दछ । अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । अमलाले ब्लडसुगरलाई पनि नियन्त्रण गर्छ ।

Loading...