fbpx

मनभरि दुःख, पेटभरि भोक, शरीरभरि गोली

टीकाराम उप्रेती

देशमा लोकतन्त्र आएको १५ वर्ष पुगिसक्दासमेत यसका लागि लडेका पूर्वमाओवादीका घाइते लडाकु भने उपचार नै नपाएर शरीरभरि गोली, पेटभरि भोक र मनभरि दुःख बोकेर बस्नुपरेको छ । यस्तै कष्टपूर्ण जीवन बिताइरहेका छन्, एकजना जनयुद्ध योद्धाले । उनी बिगत १३ वर्षदेखि ह्वीलचियरको सहारामा कष्टपूर्ण जीवन काटिरहेका छन् ।

छोराछोरी सबै लाखापाखा लागे । घरमा दुईजना बुढा–बुढीमात्र छन् । कम्मरदेखि तलको भाग चल्दैन । बिगत आठ महिनादेखि दुई वटै खुट्टा सुन्निएर मुरुमुट्ट भएका छन् । श्रीमती बुद्धरानी लिम्बू पनि असरल्ल अचेत अवस्थामा सधैँ कुनामा सुतिरहन्छिन् ।

जनयुद्धमा ज्यानको पर्वाह नगरी गणतन्त्रका लागि लडेका पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका १ नवमीमा स्थायी घर भइ हाल इलामको चुलाचुली गापा १ कमलमा बस्दै आएका ४५ वर्षीय पूर्वमाओवादी लडाकु अमरकुमार चेम्जोङ आजकाल यस्तै कहालीलाग्दो अवस्था भोगिरहेका छन् । ‘मेरो यस्तो हालत भएपछि उनलाई समेत डिप्रेशन भयो’, सिक्समले आफ्नो यर्थाथ अवस्था बताउँदै भने, ‘एक वर्षदेखि डिप्रेशनको औषधि नियमित खाँदै थिइन् । एक महिना भयो औषधि सकिएर छुटेको । पैसा नभएपछि बिरामले च्यापेर खानासमेत पकाउन छोडिन् । अहिले म आफैँ ह्वीलचियरमा बसेर नै खाना पकाउँदै छु’, बेखबर, बेसुर अवस्थामा घरको कुनामा सुतिरहेकी श्रीमतीलाई देखाउँदै उनले यर्थाथ बताउने क्रममा भने, ‘मेरो हालत यस्तै छ है आजकल साथी हो ।’

aaa

जनयुद्धमा गोली लागेर घाइते भएकैले हो उनको शरीरको कम्मरदेखि तलको भाग चल्दैन । दिसा–पिसाव आएको थाहा हुँदैन । शौचालय जानदेखि खानसमेत ह्वीलचियरको सहारा लिनुपर्छ । शरीरमा अस्वभाविक रूपमा स्वास्थ्यमा खराबी देखिएको छ । उपचार गर्ने पैसा छैन । बिगत १३ वर्षदेखि ह्वीलचियरको सहारामा भित्र–बाहिर गरिरहेका छन्, उनी । अहिले आफ्नो नियमित रूपमा सेवन गर्नुपर्ने औषधि खरिद गर्ने पैसासमेत छैन उनीसँग । धेरै भयो थप उपचारको लागि पनि उनी जान सकेका छैनन् ।

…..

वर्षौंदेखि देशमा रहेको निरकुंश राज्य सत्ता परिवर्तन गर्न हतियार उठाएर युद्धमा होमिएका पूर्वमाओवादी लडाकु अहिले हल न चल भएर एक कुनामा ह्वीचियरमा थन्किनु परेको देख्दा धेरैले जिब्रो टोक्छन् । तर, उनी कसैको दयाको पात्र बन्न रुचाउँदैनन् । गणतन्त्र स्थापना गर्न हतियार बोकेका पूर्वलडाकु अहिले औषधि उपचार गर्न नसक्दा, शरीरभरि गोली र छर्रा लिएर बस्न बाध्य भएको बताउनु पर्दा, बहादुर बनेर जनयुद्धमा लडेर घाइते हुनपुगेका योद्धा सिक्सम आफूमा ग्लानी गर्छन् ।

आफ्नो निरीह अपांगताप्रति आक्रोश व्यक्त गर्छन् । उनले कुराकानीका क्रममा भने, ‘कमाउने उर्जाशील बल, उमेर, बैश सबै युद्धमा बिताइयो । घरमा देशमा लोकतन्त्र स्थापना गरेर घरमा फर्कँदा न गरिखाने सग्लो शरीर नै छ । न त घरमा गरिखाने कुनै विकल्प छ । भोक लाग्यो भने पेट मिचेर बस्नुबाहेक मसँग अरु केही उपाय नै छैन ।’

जनयुद्धका साहसी योद्धा सिक्समले कतिसम्म गरिबीमा छट्पटाउनु परिरहेको छ भने उनी नेपाल सरकारको तर्फबाट यसैवर्ष वितरण गरिएको मानपद्वी ग्रहण गर्नसमेत आवश्यक व्यवस्थापन गर्न नसक्दा जान सकेनन् । ‘मेरो योगदानको कदर गर्दै केही गोर्खा दक्षिण बाहुद्वारा बिभूषित गर्न राष्ट्रिय सम्मानका लागि ११६ नम्बरमा नामसमेत प्रकाशित भएको थियो । तर, आवश्यक कपडा र बाटो खर्च नहुँदा सम्मान ग्रहण गर्नसमेत जान सकिँन’, उनले गुनासो गरे ।

आर्थिक अवस्था कमजोर भएका कारण जीविको पार्जन नै असहज भएको उनको मुख्य दुखेसो छ । युद्धकालमा खाइ–नखाइ लडेर आफ्नो उर्वर उमेर जनयुद्धमा नै बिताए उनले । अहिले घरमा फर्कँदा अपाङ्ग शरीर मात्र छ । यसले गर्दा घरपरिवारसमेत बिरामी परेका छन् । सम्हाल्न नै समस्या भएको छ । काम गरेर खाने सग्लो शरीर र स्वस्थय परिवार भइदिएको भए उनी किन डग्थे र गरिबीसँग । उनलाई अहिले ठूलो घर–बंगला बिलासी भौतिक वस्तु चाहिएको छैन । घरमा बिहान बेलुकाको गर्जो टार्ने दैनिकी सहज बनिदिए पुग्छ ।

विक्रम सम्वत २०६२ साल माघ १३ गते धनकुटा जिल्लामा राजाले गरेको चुनाव बिथोल्ने क्रममा तत्कालीन शाही सेनाको गोली लागेर घाइते भएका चेम्जोङ सोही समयदेखि शारीरिक रूपमा अपाङ्ग भए । पछाडी ढाडमा लागेको गोलीले गर्दा नशा छिनेर शरीरको तल्लो भाग चल्न छोड्यो । यही पीडाले श्रीमतीसमेत मानसिक बिरामी भइन् । अहिले दैनिक खाने अन्न र औषधि किन्ने पैसासमेत नहुदाँ उनी बिरक्तिन्छन् । र, आफूलाई नै धिर्कादै मुर्मुरिन्छन्, ‘खै अशक्त गरिबहरूका लागि गणतन्त्र आएको ।’

…..

घरमा २ वर्षकी कान्छी छोरी ११ वर्षको जेठो छोरोसहित ५ जना छोराछोरी छोडेर २०५८ साल माघ महिनादेखि पूर्णकालीन सदस्य भएर हिँडेका थिए सिक्सम । घरमा समस्यै समस्या थिए । कमाउने एक जना श्रीमतीको भरमा घरभरि लालावाला छोड्न त्यति सहज थिएन । तर, देशमा निरकुंशता र सामन्तवादको अन्त्य गरी वर्गीय विभेदको अन्त्य गर्न सकेँ भने घरका आन्तरिक समस्या केही होइन भन्ने मनोवल बढ्यो । जताततै विकृति थियो । सरकारी कार्यालयमा जनताले हैरानी भोग्नुपर्ने बाध्यता थियो । गुनासो कसैले सुन्नेवाला थिएन । यस्तो विभेदको अन्त्य हुन आवश्यक छ भन्ने ठाने र उनलाई हतियार बोक्ने आँट जागेर आएको थियो । जनयुद्धमा घाइते भएपछि इलामको चुलाचुलीस्थित तत्कालीन माओवादी सेनाको एक नम्बर डिभिजनमा सहभागी लडाकुको तर्फबाट आर्थिक संकलन गरी थोरै जग्गा र घर निर्माण भएको उनी र उनको परिवारका लागि । बहादुरयोद्धा चेम्जोङ अहिले त्यही बस्दै आएका छन् ।

…..

जनयुद्धमा लागेपछि उनले लगातार युद्धमा होमिनु पर्यो । केही वर्षको संर्घषपछि देशमा ठूलो राजनीतिक परिवर्तन भयो । जनताको बललमा लोकतन्त्र स्थापना भयो । यसमा योगदान गर्न पाएकोमा गौरव लागेको चेम्जोङ बताउँछन् । ‘हामीले व्यक्तिगत इच्छा राखेर युद्ध गरेका होइनौँ त्यसकारण जनताको मुक्तिका लागि लड्न पाउँदा कुनै पछुतो छैन । तर, यसरी लडेका युद्धकालका घाइते अपाङ्ग लडाकुका लागि भने जीवन निर्वाह सहज बनाउन आवश्यक छ ।’ उनी घाइते योद्धाहरूलाई उपचारको व्यवस्था निःशुल्क हुनुपर्ने नत्र आफूजस्ता धेरै घाइते लडाकु भोक–भोकै औषधि उपचार नपाएर मर्ने अवस्था आउने बताउँछन् । गणतन्त्र ल्याउनका लािग लडेका योद्धाहरूको हालत हेर्न नपरोस् भनेर सरकारले घाइते लडाकुलाई अवस्था हेरी वर्गिकरण गरी शारीरिक मानसिक अवस्था हेरेर उपचार र सुबिधा उपलब्ध गराउनुपर्ने र उनको माग छ ।

…..

तत्कालीन माओवादी र सरकारबीचमा १४ गणतन्त्र दिवस मनाइयो । द्वन्द्व र त्यसको उपलब्धीको सम्झनामा २४औं जनयुद्ध दिवस मनाइएको छ । यो अवधिमा सेना समायोजन भयो । केही लडाकु योग्य भएर नेपाली सेनामा गए भने कोही आयोग्य भएर गाउँमै छन् । सेना समायोजनको क्रममा स्वेच्छिक अवकासमा बाहिरिएका थिए । तीन चरणको सेना समायोजनको प्रक्रियामा अधिकांश घाइते तथा अपाङ्ग लडाकुको सही व्यवस्थापन उपचारको व्यवस्था हुन नसक्दा अहिले शरीरमा गोली लिएर बस्नुपर्ने बाध्यता रहेको छ ।

धेरै घाइते अपाङ्गता भएका लडाकुहरूको अवस्था अहिले दयनीय भएको छ । दैनिक जीविको पार्जन गर्नैमा उनीहरूलाई समस्या छ । पूर्वजनमुक्ति सेना, आज करिब ७० प्रतिशत खाडी मुलुकमा रगत पसिना बगाइरहेका छन् ।

यता, परिवार विघटन हुँदै गइरहेको छ । देशमा भएका अधिकांश पूर्वजनमुक्ति सेना डिप्रेशनको शिकार भइरहेको सिक्सम बताउँछन् । जनमुक्ति सेनाका कमाण्डरमध्ये कोही उपराष्ट्रपति छन् कतिपय मन्त्री र कोही मुख्यमन्त्रीको जिम्मेवारीमा पनि पुगेका छन् । जनयुद्धमा होमिएका १ हजार ६ सय ४० लडाकुहरू मात्र समायोजन भएर नेपाली सेनामा कार्यरत छन् । तर, अधिकांश पूर्वजनमुक्ति सेनाहरूको अवस्था भने बिचल्लीकै रहेको उनको बुझाइ छ ।

‘समाजमा समान हकअधिकार देशमा नै रोजगार’ भन्दै समृद्ध नेपालको कल्पना गरेर हतियार बोकेका अधिकांशले अहिले जीविको पार्जनको लागि वातावरण बनाइदिन सरकारसँग माग पनि गरिरहेका छन् । दशवर्षे सशस्त्र युद्धका क्रममा पार्टीको पूर्णकालीन कार्यकर्ताको रूपमा काम गरेको पूर्वलडाकुहरूले सेना समायोजनमा नपरेपछि सरकारले र पार्टीले कुनै वास्ता नगरेको गुनासो गरेका छन् । युद्धका क्रममा रहेका घाइते अपांग र अयोग्य लडाकुहरूलाई राज्यले निःशुल्क स्वास्थ्य उपचार र जीविको पार्जनको आधार तयार गरिदिन माग गरेका छन् ।

अयोग्य लडाकुहरूले आफूहरूले पटक–पटक पार्टी नेतृत्त्व र हरेक सरकारलाई समस्याबारे जानकारी गराए पनि आफूहरूले आस्वासन मात्र पाएको गुनासो गरेका छन् । सेना समायोजनका क्रममा संयुक्त राष्ट्रसंघीय मिसनअनमिनको प्रमाणीकरणका क्रममा उमेर नपुगेको भन्दै चार हजार नौ जना माओवादी लडाकु अयोग्य भएका थिए । उनीहरु सबैले गणतन्त्रका लागि योगदान दिएका थिए । यसैले नयाँ नेपालको जुनसुकै पार्टीको सरकारले यसबारे गम्भीर हुन आवश्यक छ’, अशक्त योद्धा सिक्सम आफनो धारण व्यक्त गर्छन् ।

(घाइते योद्धा प्रतिष्ठानले भर्खरै प्रकाशन गरेको जनयुद्धका घाइते योद्धाहरूको संघर्ष गाथा पुस्तक, ‘नमेटिने घाउ’बाट साभार)

Loading...