fbpx

‘पारस : द अनलक्की म्यान’ मा निश्चल, छायांकनअघि नै प्रदर्शन मिति तोकियो

विराटनगर, ३१ भदौ । केही वर्षअगाडी दर्शकको मन जित्न सफल भएको फिल्म ‘लुट’ सिरिजका निर्माता माधव वाग्लेले अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । आधा दर्जन बढी फिल्मको निर्माण गरिसकेका माधवले डेब्यू निर्देशन गर्ने फिल्मको नाम ‘पारस : द अनलक्की म्यान’ राखिएको छ ।

आफ्नो आधिकारिक फेसबुकमार्फत् माधवले आफ्नो निर्देशनमा ‘पारस’ फिल्मको घोषणा गरेका हुन् । फिल्मको मुख्य भूमिकामा ‘लुट’ का निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई अनुबन्धित गरिएको छ । निश्चलले फिल्मको टाइटल क्यारेक्टरको भमिका निर्वाह गर्ने भएका छन् । निश्चलसँगै फिल्ममा कलाकार सन्दीप क्षेत्री र अभिनेत्रीमा समीक्षा पोखरेल पनि फाइनल भइसकेका छन् ।

उक्त फिल्मबाट समीक्षाले सिनेमा क्षेत्रमा डेब्यू गर्दै छिन् । एक अनलक्की पुरुषको कथामा आधारित भएर फिल्मको निर्माण गरिने भएको छ । आउँदो मंसिरबाट छायांकनमा जाने फिल्मका लागि अरु कलाकारको खोजी भइरहेको छ । फिल्मको छायांकन सुरु नहुँदै माधवले फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

फिल्म २०७६ को चैत २८ गतेका दिन प्रदर्शनमा आउने भएको छ । हाल फिल्मको स्क्रिप्टलाई अन्तिम रूप दिने काम भइरहेको छ । एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट फिल्म निर्देशन गर्न लागेको माधवले बताएका छन् ।

चलचित्र क्षेत्रमा निर्माता सधैँ नै ओझेलमा पर्ने हुँदा आफ्नो इच्छा पूरा गर्नका लागि पनि फिल्मको निर्देशन गर्न लागेका हुन् । फिल्मको सबै काम सकेर चैत्र २८ गते नै प्रदर्शनमा आउने भएमा यस वर्षको निकै प्रतिक्षित फिल्म ‘प्रेमगीत’को तेस्रो सिरिजसँग भिडन्त गर्नु पर्ने हुन्छ ।

Loading...