fbpx

आफूमाथि लागेको ‘बलात्कार’ आरोपको विषयमा बोले रोनाल्डो

एजेन्सी, ३१ भदौ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको ‘बलात्कार’को आरोपको विषयमा बोलेका छन् । मंगलबार यूके टिभीलाई दिएको अन्तर्वार्ताका क्रममा युभेन्टसका स्टार रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोपले आफूलाई लज्जित बनाएको बताएका छन् ।

रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक होटलमा अमेरिकन मोडल क्याथरिन म्यायोग्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । क्याथरिन म्यायोग्राले एक वर्षअघि मात्र आफूमाथि जबर्जस्ती करणी भएको दाबीसहित रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

यद्यपि, क्याथरिन म्यायोग्राले नै मुद्दा फिर्ता लिएपछि रोनाल्डोले सफाइ पाइसकेका छन् । उनीमाथि लागेको आरोप झुटो साबित भइसकेको छ । रोनाल्डोले ‘गूड मर्निङ ब्रिटेन’ नामक अन्तर्वार्ताका क्रममा सो आरोपलाई सम्झिँदै भनेका छन्, ‘उनीहरूले मेरो इमान्दारितामाथि खेले । यो एकदमै कठिन थियो । मसँग मेरी प्रेमीका छिन् र पूरा परिवार छ, बालबच्चारू छन् । जब उनीहरूले मेरो इमान्दारितामाथि खेले, यो एकदमै कठिन भयो ।’

‘म त्यो दिन सम्झिन्छु,’ रोनाल्डोले थपे, ‘जुन दिन म आफ्नो घरमा बालबच्चा र प्रेमीकासँग टिभीमा समाचार हेरिरहेका थिएँ । त्यँहा, मेरो विषयलाई लिएर झुटो समाचार आयो । मैले मेरा बच्चाहरूलाई तल जान भनेँ र मैले च्यानेल बदलिँए । किनकी, मलाई लज्जित महसूस भयो । तर, मैले च्यानल फेर्दै गर्दा मेरो छोराले आफ्नो बुबाको नराम्रो खबर सुन्यो, मलाई निकै लज्जित महसूस भयो ।’

यस्तै रोनाल्डोले उक्त अन्तर्वार्ताको क्रममा एक पुरानो तस्बिर हेरेपछि रुएका थिए । तस्बिरमा उनी र उनका बुबा थिए । रोनाल्डो २० वर्षको छँदा उनका बुबा बितेका थिए । धेरै मादक पदार्थ सेवन गरिरहने रोनाल्डोका बुबा ५२ वर्षको उमेरमा लिभर फेल भएर बितेका थिए ।

उनले सो अन्तर्वार्ताको क्रममा रुँदै भनेका छन्, ‘उहाँ एक मादक पदार्थ सेवन गर्ने मानिस हुनुहुन्थ्यो । मैले उहाँलाई कहिल्यै बोलाइँन । हामीबीचमा सामान्य संवाद मात्र हुन्थ्यो, त्यैपनि कठिनले । मेरो परिवार हेर्दा मेरो आमा, दाजुहरू, मेरो ठूलो छोरा छन् । तर, मेरो बुबाले मेरो सफलता देख्न पाउनुभएन ।’

उनको बुबाको निधनपछि रोनाल्डोले पाँच पटक बालोन डी’ओर र पाँच पटक च्याम्पियन्स लिगको उपाधि जिते । यस्तै सन् २०१६ को युरो कपको उपाधि जितेका रोनाल्डो बुबाले आफ्नो उपलब्धीहरू देख्न नपाइ बितेको भन्दै रोएका थिए ।

Loading...