fbpx

समाजमा हानिकारक प्रथा र संस्कार

जयकृष्ण यादव

हाम्रो नेपाली समाजमा विभिन्न प्रकारका हानिकारक अभ्यास, प्रथा र संस्कारका कारणले असर परेको छ । कुनै कालखण्डमा समाजमा रहेको तत्कालीन आवश्यकता पूरा गर्नका लागि अपनाइएको रितीरिवाज, कला संस्कृति र संस्कारहरूलाई परिवर्तित समाजमा पनि निरन्तरा दिदाँ हानिकारक रूपमा परिणत भएको छ । विगतमा अर्थत एक शताब्दी अगाडिसम्मको अवस्थामा बाल विवाह पूण्यको रूपमा लिइन्थ्यो, बहुविवाहलाई महान पुरुषको रुपमा वा बलियो पुरुषको रूपमा हेरिन्थ्यो, दाईजोलाई उपहार र सम्पत्तिको शक्ति प्रदर्शनको रूपमा लिइन्थ्यो, भोज भतेरलाई प्रतिष्ठासँग जोडेर हेरिन्थ्यो, महिलाको महान्ता र सतित्वसँग सति प्रथालाई लिइन्थ्यो, विवाह अभिभावकले केटा वा केटी खोजेर गर्ने चलन बालबालिका अवस्थामा उनीहरूले नबुझ्ने नजान्ने भएकाले गरिन्थ्यो, विवाहको धेरै दिनसम्म माइतमा बस्ने गरेको कारण थियो बालापन, महिनाबारीअगाडि नै विभिन्न रोग वा प्रकोप र महामारीले बुवाआमाको मृत्यु हुने भएकाले छोरीहरूको विवाह गर्ने गरिन्थ्यो तर अहिले आएर यो अवस्था समाजमा भएको विकास र परिवर्तनले निकै फड्को मारिसकेको छ ।

तर पनि हाम्रो समाजमा त्यही कुरालाई अगिंकार गरिदिदाँ यो कुसंस्कार वा हानिकारक अभ्यास, प्रथा र संस्कारको रूपमा परिणत भएको हो । पहिला शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, विद्युत, सञ्चारलगायतका विकासका पूर्वाधारको अभाव रहेको समाजमा जे पनि चल्थ्यो जे पनि पच्थ्यो तर अहिलेको समय र परिस्थिति त्यस्तो छैन् । हामीले विगतको जस्तो समाजमा रहेको क्रियाकलापहरूलाई त्यसबेलाको साँच्चै आवश्यकता मान्नुपर्छ र संस्कार पनि तर अहिलेको अवस्थामा त्यसैलाई पूर्ण रूपमा अक्षरसः पालाना गर्नुपर्छ भन्ने छैन ।

सबै कुरा फेरि नराम्रो थियो भन्ने पनि छैन, यसमा समाजको आवश्यकता र समयको मागलाई हेरेर थेरै कुराहरूले हामीलाई नै असर परेको छ भन्ने बुझ्न जरुरी छ । कुनै बेला यस्तो थियो कि दैवी शक्तिले काम गरिन्थ्यो र हुन्थ्यो पनि तर कहिले आएर वैज्ञानिक आविस्कार भएका सामग्री वा वस्तु तथा सिद्धान्तले काम गर्न थालेको छ । यो अवस्थाले पनि हाम्रो समाजमा रहेको केही घटना क्रम वा प्रवृत्तिले के संकेत गर्छ भने हानिकारक अभ्यासलाई त्याग्नु जरुरी छ ।

हाम्रो पूर्खाको कारण वा विगतको कालखण्डमा तत्कालीन अवस्था, आवश्यकता र चाहना पूरा गर्नका लागि बालविवाह, बहुविवाह, दाइजो, छुवाछुत, जातीय विभेद, उपहार (सन्देश) बारेमा रितीरिवाज, मौलिक कला संस्कृति र संस्कारहरूलाई अपनाएको थियो । तर, परिवर्तित समाजमा पनि त्यसैलाई केही समुदाय वा वर्गले निरन्तरा दिदाँ हानिकारक रूपमा परिणत भएको देखिन्छ ।

समाजमा विगतको संस्कारहरू अहिले आएर कुसंस्कार र हानिकारण रूपमा आएको कुरा ऐना जस्तो, सामाजिक परिवर्तनको बाधक जस्तो, भोलिका कर्णधारलाई नराम्रो असर पार्ने, वौधिकस्तर न्यून रहेको जस्तो संन्देश दिनेगरी हानिकारक अभ्यास रहेको पाइएको छ ।

समाजमा विगतमा अर्थात एक शताब्दी अगाडिसम्मको अवस्थामा बालविवाह आवश्यकता अहिले संस्कार : हाम्रो समाजमा छोराछोरीको विवाह कम उमेर गरेर नानीहरू हुर्काउन सहजता, विवाह गरेपछि स्वर्गमा बास, राम्रो केटा वा केटी पाउने आश रहेकाले र सानै उमेरमा विवाह गर्दा पूण्य पाउने आशको रूपमा लिइन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ समाजमा छोराछोरीहरूले पढ्न पाएका छन्, समाजमा शिक्षा, स्वास्थ्यले व्यापकता पाएको छ, जसले गर्ने महामारिको अवस्था छैन, सानै उमेरमा मर्ने संख्या न्यून छ । विगतमा बाल विवाह रहर नभइ बाध्यता थियो तर अहिले आएर केही समुदायले रहरको रूपमा बाल विवाहलाई लिएको छ ।

बालविवाहका कारणले केहीले आत्महत्या त केही घरनिकाला, केही घरेल हिसांको शिकार, केही रोगको शिकार, केहीको आकालमा ज्यान गएको अवस्था छ । नेपाल सरकारले अहिले बालविवाह पूर्णत कानुनी रूपमा अपराध मानिएको छ । विवाहका लागि २० वर्ष उमेर तोकेको छ ।

विगतमा बहुविवाहलाई बलियो पुरुषको रूपमा हेरिन्थ्यो अहिले पनि त्यसको निरन्तरताले नकारात्मक असर : समाज गतिशिल र परिवर्तनशीत छ त्यसमा पनि समाजमा पारिवारिक कलह, प्रलोभन, यौनक्रिडा, शक्तिको प्रर्दशन, नकली प्रेमजाललगायतका कारणले बहुविवाह बढेको छ । यो समाजका लागि अर्को हानिकारक अभ्यास हो ।

हाम्रो समाजमा दाइजो प्रथा कि कुप्रथा  : धेरैले विवाहलाई उत्सवको रूपमा लिन्छन् । यसलाई लिनुपनि पर्छ किनभने विवाह मानिसको जीवनमा बैधानिक विवाह एकपटक नै हुन्छ अपवादमा बाहेक । त्यसैले विवाहमा केटा पक्षलाई केटी पक्षकाले दिने गरगहना, नगद, जिन्सीसहितका विभिन्न उपहार र सम्पत्ति दिने गरेको पाइन्छ । दिन र लिनका लागि कोही कसैले हस्तक्षेप र मागेर दवाव दिएर, करकापमा पारेर दिन्छ भने त्यो दाइजो कुप्रथाको रुपमा जान्छ । होइन भने शक्तिअनुसारको बिना मागेर दिइने सामग्रीलाई संस्कार वा प्रथाको रूपमा मान्न सकिन्छ । विगतमा शक्ति प्रदर्शनको रूपमा लिइन्थ्यो त्यसलाई अहिले पनि निरन्तरता दिनुलाई कुसंस्कारको रुपमा मानिन्छ ।

समाजमा भोज–भतेर प्रथा : तराइ मधेसमा प्रायः समुदायमा भोज–भतेर गर्ने प्रथा अझै जारी छ । मधेशमा बच्चा जन्मेको छैठौँ दिन छटिहार भोज, १२ दिनमा बरही भोज, विवाहमा विवाहको गाउँले भोज, मृत्यु संस्कारमा चौथो दिन खीरको भोज, सातौं दिन भातलाद तरकारीको भोज, १० दिन नहकेसको भोज र ११ दिनमा श्रादको भोज अनिवार्य गर्ने प्रथा छ । यो विगतमा केही भोकाहरूलाई भोज खुवाएपछि मृतकको स्वर्गमा बास हुने मान्यता थियो । तर, त्यो बैज्ञानिक रूपमा कुनै पुष्टि भएको वा आध्यात्मिक रूपमा यथेस्ट प्रमाण फेला गरेको छैन ।

तर, त्यसैलाई धेरैले प्रतिष्ठासँग जोडेर हेरिन थालेको छ, यो संस्कारको रूपमा आएको छ आर्थिक रूपमा सम्पन्न भएकालाई समस्या नभएपनि आर्थिक विपन्नता भएकालाई ठूलो बोझको रूपमा भोज रहेको छ । यति हुँदासमेत भोज अनिर्वाय नै गर्नुपर्छ र गरिन्छ पनि । यो अनिवार्य नभएपनि छाड्न भने समाजले सकेको छैन ।

समाजमा केटाकेटीको विवाह अभिभावकले केटा वा केटी खोजेर गर्ने चलन : विगतमा बालबालिका भएकै अवस्थामा विवाह गर्ने भएकाले केटाकेटीहरूले नबुझ्ने नजान्ने भएकाले अभिभावकले खोजेर गरिन्थ्यो, तर अहिले समाजमा विकास र परिवर्तन भए पनि, केटाकेटीहरू आफ्नै खुट्टामा उभिन सकेको भएपनि अभिभावकको हस्तक्षेप जारी छ जुन हानिकारक अभ्यास र प्रथा हो । जीवन बेतित गर्ने केटाकेटीको विवाह जस्तो महान काममा केटाकेटीलाई उसको लागि खोजेको जीवन साथीलाई विवाहपूर्व हेर्न र कुरा गर्नसमेत दिँदैन् । यसलाई परिवर्तन गर्न जरुरी छ । किनभने यसैको कारणले धेरैको विवाहपछि मन नमिल्ने, पूर्वप्रेमी वा प्रेमिकाको तनाव सहनु पर्ने, ससुरालीमा त्यो कुरा थाहा पाएको कारणबाट यातना र हिंसा खेप्नुपर्ने, केहीलाई सहन नसकेर विवाहपछि भागेर अर्कै केटी वा केटासँग जाने, केहीले समाजमा मुख देखाउने ठाउँ नभएको ठहर गरी आत्महत्या गर्ने, केहीलाई पनि हत्या नै गर्नेसम्मको काम भएकाले यसमा सुधारका लागि अभिभावकहरू गम्भीर बन्न जरुरी छ ।

छुवाछुत र विभेद : विगतमा समुदायमा विभिन्न काम वा पेशा गर्ने समुदायको कारणले जातीय, धार्मिक र वर्गीय छुवाछुत थियो । त्यसको निरन्तता अहिले पछि छ तर अवस्था विगतको जस्तो छुवाछुत गर्ने र विभेद गर्ने खालको छैन । पानीको अभावमा सीनो फाल्नेहरूले धेरैदिनसम्म ननुहाउने, सरसफाइमा ध्यान नदिने, सुगुर वा अन्य जनावर पालन गर्दा व्यवस्थित तरिकाले नपाल्नेलगायतको विविध कारण देखाइ विभेद र छुवाछुत गरिन्थ्यो । तर, अहिले सबै कुरा फेरिएको छ । न सरसफाइमा कोहीभन्दा कोही कम छ तर विगतको मानसिकताबाट कोही पनि पछि हट्न नचाहेकाले समस्या भएको हो । विगतको जस्तो अहिले समाजमा न विभिन्न रोग वा प्रकोप र महामारी नै छन् न त सरसफाइको अभाव नै । त्यसैले यो अवस्था समाजमा भएको विकास र परिवर्तनले निकै फड्को मारिसकेको भएपनि हानिकारक अभ्यासलाई कम गर्न जरुरी छ । तर, पनि हाम्रो समाजमा त्यही कुरालाई अगिंकार गरिदिदाँ यो कुसंस्कार वा हानिकारक अभ्यास, प्रथा र संस्कारको रूपमा परिणत भएको छ ।

Loading...