fbpx

‘कबड्डी ३’मा दयाहाङ र उपासनाको ‘माया पिरती’ (भिडियोसहित)

विराटनगर, ३१ भदौ । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । रोमान्टिक जनरामा आधारित रहेर तयार भएको गीतमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको स्वर, संगीत तथा शब्द रहेको छ ।

सार्वजनिक गरिएको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक अवतरमा देख्न सकिन्छ । गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी हुन् । असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको निर्माण टिम अहिले प्रचार प्रसारमा ब्यस्त रहेको छ ।

स्वजातिय विवाह र अन्तर्जातीय प्रेमसम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित रहेको फिल्ममा दयाहाङ र उपासनाका साथै विल्सनविक्रम राई, रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुस्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधरलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

फिल्मको ट्रेलर तथा फिल्ममा समावेश भएका दुई गीत सार्वजनिक भइसकेको छ र फिल्मको ट्रेलरलाई दर्शकहरुले निकै रुचाएका छन् । फिल्म ‘कबड्डी’ को दोस्रो पार्ट जहाँ अन्त्य गरिएको थियो तेस्रो सिक्वेल त्यहीँबाट सुरु भएको छ । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल हो ।

Loading...