fbpx

आर्चरीमा स्वर्णको आश : सागका लागि १६ खेलाडी छनोट

पोखरा ३० भदौ । मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा आर्चरीका लागि १६ खेलाडी छनोट भएका छन् ।
भदौ २८ गतेदेखि सोमबारसम्म पोखरा रङ्गशालाको आर्चरी मैदानमा सञ्चालन भएको छनोट प्रतिस्पर्धाबाट १७ पुरुष र ११ महिलामध्येबाट रिकर्भका लागि चार÷चारजना पुरुष तथा महिला खेलाडी छनोट गरिएका नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए ।

छानिएका खेलाडीहरुमा पुरुषतर्फ पोखराका असिम शेरचन, आर्मीका रोशन नगरकोटी तथा डम्बरबहादुर थापा, नेपाल प्रहरीका तिलक पुन मगर र महिलामा आर्मीका मित्र राई, आइसा तामाङ तथा ज्ञानु अवाले, पोखराकी विष्णुमाया लिम्बू रहेका छन् । आर्चरीमा रिकर्भ र कम्पाउण्ड क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । कम्पाउण्डतर्फ भने यसअघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरी सकिएका खेलाडी छनोट समितिका संयोजक वसन्त थकालीले बताए ।

सागमा आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्ट पदका लागि प्रतिस्र्धा हुने थकालीले बताए ।

श्रीलङ्काको कोलम्बोमा भएको सागको १०औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो । पहिलोपटक कुनै पनि पदक नजितेको नेपालले ११औँ संस्करणमा रिकर्भ क्याटेगोरीमा पुरुष टिम इभेन्टमा काश्य पदक प्राप्त गरेको थियो भने १२औँ सागमा रिकर्भतर्फ पुरुष व्यक्तिगतमा काश्य पदक ल्याएको थियो । यसपटक घरेलु मैदानमा प्रतियोगिता सञ्चालन हुने भएकाले स्वर्ण पदकको आश गरिएको र खेलाडीले समेत सोहीअनुसार कडा मेहनत गरिरहेका सङ्घका अध्यक्ष गुरुङले बताए ।

Loading...