fbpx

एकमहिनापछि सुरु भयो उर्लाबारीको सेवा

विराटनगर, ३० भदौं । मेयर उपमेयरबीचको विवादका कारण अवरुद्ध भएको उर्लाबारी नगरपालिकाको सेवा एक महिनापछि सुरु भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हस्तक्षेपछि सेवा सुरु भएको हो ।

एक महिनादेखि अवरुध भएको काम सुचारु गर्न बिहीबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको थियो । सोमबार बसेको नगर कार्यपालिका बैठकले मंगलबारबाट सेवा सुचारु गर्ने निर्णय भएको नगरपालिका प्रमुख खड्ग फागोले जानकारी दिए । उनका अनुसार सोमबारबाट केही स्थानमा सेवा सुचारु भएको थियो ।

 

उच्च अदालत विराटनगरले चौथो नगरसभाको निर्णय तत्काल कार्यान्यन नगर्न आदेश दिएपछि गत साउन २९ गतेबाट नगरपालिकाले दस्तुर लिएर दिने सेवा रोकिएको थियो । बिहीबार मन्त्रीस्तर निर्णय गर्दै तेस्रो नगरसभाका आधारमा काम सूचारु गर्न पत्र पठाएपछि सेवा सुचारु गर्ने निर्णय भएको प्रमुख फागोले बताए ।

गत असार २९ गते उर्लाबारी नगरपालिकाको चौथो नगरसभा भएको थियो । १९ जना कार्यपालिका सदस्य रहेको नगरमा मेयर खड्ग फागोसहित नेपाली कांग्रेसका ६ जना सदस्यले निर्णय गरि चौथो नगरसभा डाकेका थिए ।

कोरम नपुगी नगरसभा डाकेको दाबि गर्दै उपप्रमुख सहित १३ जना कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतले गत साउन २७ गते नगरसभाको निर्णय कार्यन्यव नगर्न आदेश जारी गरेको थियो ।

विकासको काम रोकिने

अदालतमा मुद्दा बिचाराधिन भएको अवस्थामा गत आर्थिक वर्ष २०७५–७६ को तेस्रो नगरसभाको निर्णयका आधारमा दैनिक सेवा सुचारु भएपनि विकास निर्माणका काम भने अघि बढ्ने छैनन् । अदालतबाट मुद्दा किनारा नलागेसम्म विकास निर्माणको काम अघि नबढ्ने फागोले जानकारी दिए ।

Loading...